हरिश चन्द्र बाग, कञ्चनपुर, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न क्षेत्रबाट गरिएको प्रयास सह्रानीय भएको बताउनु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई शुक्रबार विशेष सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले पश्चिम सेती, पञ्चेश्वर, कैलाश मानसरोवर लगायतका योजना सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आर्थिक समृद्धिको जग र सामाजिक, सांस्कृतिक चेतनाको पूर्वाधार शिक्षा क्षेत्र भएकोले प्राविधिक तथा व्यावसायिक शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरूमा रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल सरकारले पर्यावरणीय संरक्षणमा केन्द्रीकृत निकुञ्जको सुरक्षाका निम्ति नेपाली सेना खटाएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली सेनाले उक्त अभिभारा जिम्मेवार ढंगले निर्वाह गरिरहेको बताउनुभयो ।
सोही क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चिम प्रदेशले विविध कार्यक्रमका अतिरिक्त पाँचवटा करिडोरको विकासमा पनि विशेष जोड दिएको उल्लेख गर्नुभयो । उहाँले कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि संघीय सरकारसंग जोडदार माग गर्नुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँमा आयोजना गरिएको उक्त कार्यक्रममा सम्बोधनका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वा्चित प्रतिनिधि सभा सदस्य दीपक प्रकाश भट्टले दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र, महाकाली करिडोर लगायतका योजनाहरू वर्तमान सरकारको योजनामा रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन प्रबर्द्धनका लागि नगरपालिकाले गरेको प्रयासको उच्च सम्मान व्यक्त गर्नुभयो ।
यहाँका पर्यटकीय क्षेत्रहरुको विकास र प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यही फागुन ०९ गते देखि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मिला कुमारी पन्त, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित हजारौं नागरिकको सहभागिता रहेकोमा नगर प्रमुख बिष्टले आभार व्यक्त गर्नुभयो ।