हरिश्चन्द्र बाग, कञ्चनपुर, १० माघ । कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्काबाट ४.५८ ग्राम अवैध लागू औषध खैरो हेरोइन सहित बेलौरी नगरपालिका वडा नम्बर ३ खिरिया बस्ने २८ वर्षीय राम अवतार रानालाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०१ ०१० प ३३५० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । यसै गरी कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कस्थित दैलेख शाही खाजा घरबाट ९० ग्राम अवैध लागू औषध चरेस सहित खाजा घरका सञ्चालक २६ वर्षीय विक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।