राजेन्द्र प्रसाद पनेरू, कञ्चनपुर, ०४ साउन । नेपाल रानाथारु समाजले रानाथारु समुदायको कला, संस्कृति, पहिचान र भाषा संरक्षण, सम्बद्र्धन, उत्थान एवं विकास तथा प्रतिभा उजागर गर्ने उद्देश्यका साथ ‘पहिलो रानाथारु सामन कि गीत प्रतियोगिता’ आयोजना गरेको छ । कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताउनु भयो । ‘रानाथारु लोक गीत बचामएँ, मौलिक प्रतिभाके उजार करामएँ’ भन्ने मुल नाराका साथ नेपाल रानाथारु समाजको आयोजना, बेलौरी नगरपालिकाको प्रायोजन र रानाथारु डटकमको प्राविधिक सहयोगमा पहिलो अनलाइन रानाथारु सामन कि गीत प्रतियोगिता गरिन लागिएको हो । नेपाल रानाथारु समाज फेसबुक र रानाथारु डटकमको फेसबुक पेजको माध्यमबाट प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिएको छ । साउन महिनामा रानाथारु समुदायले मनाउने तीजका गीतहरु लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई संस्कृति जोगाउनका लागि प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष रानाले बताउनु भयो ।
समाजका अध्यक्ष कृपाराम रानाका अनुसार एक चरणमा मात्रै हुने प्रतियोगितामा एकल प्रस्तुतिका आधारमा रानाथारु समुदायका महिलाहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा रानाथारु लोक संस्कृतिमा आधारित साउन महिनामा गाइने गीतहरु प्रस्तुत गर्ने प्रावधान रहेको छ । प्रतियोगितामा भाग लिनका लागि नाम, ठेगाना, सम्पर्क नम्बर र सांस्कृतिक पहिरनमा खिचिएको तस्बीर पठाउनु पर्ने छ । प्रतियोगितमा सहभागी हुनेहरुको गीत रेकर्ड गर्ने व्यवस्था समेत गरिएको छ । प्रतियोगिताका लागि साउन ३ गते देखि गीत संकलनको कार्य शुरु गरिएको अध्यक्ष रानाले बताउनु भयो । उहाँका अनुसार गीत अपलोड गर्ने अन्तिम मिति साउन ७ गते बुधवार १० बजेसम्म निर्धारण गरिएको छ । प्रतियोगिताको नतिजाको घोषणा रानाथारु समुदायको तीजको उपलक्ष्यमा साउन ८ गते अनलाइन मार्फत हुने बताइएको छ । प्रतियोगितामा भाग लिई पहिलो हुनेलाई रु. पाँच हजार, दोश्रो हुनेलाई रु. तीन हजार र तेस्रो हुनेलाई रु. दुई हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैबीच, पहिलो रानाथारु सामन कि गीत प्रतियोगिता २०७७ को अनलाइनबाट उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य नारद मुनी रानाले प्रतियोगिता सफलता र तीजको शुभकामना व्यक्त गर्नुभयो । सोही क्रममा उहाँले रानाथारु समुदाय अलग्गै सूचिकृत र भाषा आयोगमा समेत रानाथारु भाषाले स्थान पाएपछि पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा रानाथारु समुदायले तीजलाई लिने गर्दछन् । रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।