हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ मंसिर । कञ्चनपुर स्थित बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित मुख्य प्रशासकीय भवनको उद्घाटन गरिएको छ । बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले २०७४ पुस ११ गते शिलान्यास गरी निमार्ण थालनी गरिएको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएपछि बिहिबार एक भव्य समारोहका बीच नेपाल सरकारकी खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कुल ६ करोड ५१ लाख ३१ हजार ३ सय ३३ रुपैयाँ ९० पैसा लागत खर्चमा वाईआर / मित्र जेभीले ठेक्का पाई निर्माण गरेको उक्त भवनको भुईँतला समेत साडे चार तला र लिफ्ट समेत कोठा संख्या ३२ रहेको बेलडाँडी गाँउपालिका कार्यालयका सवईन्जिनियर तेज बहादुर सुनारले बताउनु भयो ।
बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भवन निर्माणसंगै पचासौँ वर्षसम्म प्रशासकीय कामकाजका लागि सहज हुने र यसपछिका नेतृत्वकर्ताहरुले विकास र समृद्धिमा मात्रै ध्यान दिए पुग्ने गरी आफु नेतृत्वको गाउँ कार्यपालिकाले भवन निर्माण सम्पन्न गरेको बताउनु भयो । उहाँले बेलडाँडी गाउँपालिका भित्रका समस्याहरुलाई क्रमिक रुपले समाधान गर्न लागिपरेको समेत उल्लेख गर्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले भवन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवनिर्मित भवनबाटै गाउँवासीलाई सेवा प्रवाह गर्न शुरु गरिएको बताउनु भयो । बेलडाँडी गाँउपालिका वडा नम्बर १ का वडा सदस्य शंकर भट्टले सहजीकरण गरेको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, एवं सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
सोही क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले निर्वाचनको समयमा जनतालाई दिएका आश्वासन पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । एकैपटक अत्यधिक विकासको जनअपेक्षा भएपनि विभिन्न कारणहरुले अपेक्षाकृत विकास नदेखिएको उहाँको भनाइ छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट र प्रदेश सभा सदस्य तारा लामा तामाङले बेलडाँडी गाउँपालिकाको समृद्धि र विकासका लागि एकतावद्ध भएर यहीँको स्रोतसाधनको पहिचान गरी सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य कुलबीर चौधरीले सिमसार क्षेत्रको समस्या समाधान गरी कृषियोग्य जमिनका रुपमा पुनस्थापित गर्न तीनै तहका जनप्रतिनिधि लाग्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कञ्चनपुर जिल्ला सदस्य अकल बिष्टले जनचाहना बमोजिम विकासले फड्को मार्न नसकेकोले त्यसतर्फ तीनै तहका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रमकै बीच, आरक्षपीडितहरुका समस्यालाई समेटेर बेलडाँडी गाउँपालिकाको तर्फबाट तयार गरिएको ज्ञापन पत्रलाई प्रवक्ता अमर बहादुर खत्रीले प्रस्तुत गरी खानेपानी मन्त्री बिना मगर समक्ष पेश गर्नुभएको छ । त्यस्तै, नेकपा बेलडाँडी सहित विभिन्न पक्षबाट समेत गाउँपालिका भित्रका विविध मागहरु समेटेर तयार गरिएका ज्ञापन पत्र मन्त्री बिना मगरलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको साडे तीन वर्ष र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको तीन वर्ष पूरा भइसकेको छ । स्थानीय तहले गरेको विकास केही हदसम्म देखिएपनि अहिलेका जनप्रतिनिधिहरुले निर्वाचनको समयमा देखाएका सपना त प्रायः सपना मै सिमित छन् । तर भौतिक संरचना निर्माण संगै चौतर्फी विकासको अपेक्षा नागरिकले गरेका छन् ।