काठमाडौँ । गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ (ध्वस्त) भएको भन्दै स्वास्थ्य नीति परिवर्तन गर्न सुझाव दिनुभएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुख सँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गर्नुभएको हो ।
सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले सङ्क्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा शय्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड सङ्क्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेऊ र मुटुका बिरामीलाई कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ । म अहिले पनि लिन सक्छु । तर, अर्को हस्पिटलले कोभिड मात्रै भएका बिरामीलाई जिम्मा लिइदिओस् ? तर कसैले पनि जिम्मा लिन सक्तैन अहिले । किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ ।’
उहाँले भन्नुभयो, ‘हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौ । स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्यो । बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन । म दुखका साथ भन्छु ।’
अधिकारीले यो छलफल एक वर्ष अगाडि चलाउनुपर्ने बताउँदै वीर अस्पतालको नयाँ भवनमा अहिले वीर अस्पतालमा ५ सय शय्या सञ्चालन भइसक्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘वीर अस्पताल ५ सय शय्याको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाज मर्नु अवस्था हो । हामी के हेरेर बसिरहेका छौ ? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन् । ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने । यसको जिम्मा कसले लिने ? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नु पर्थ्यो ।’
अधिकारीले उपचारको लागि नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० वर्ष भन्दा माथिका लाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले वीर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौँ ? कसैले उत्तर दिन सक्छ यो ? खै प्लानिङ ?’
सबै अस्पतालहरूमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । अधिकारीले सरकारले पनि कोभिड–१९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसके पनि ढिलै भए पनि महानगरले पहल गरेकोमा धन्यवाद दिनुभयो ।