नेपालमा हिन्दु संस्कृति अनुसार आज अर्थात् वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा माता तीर्थ औँसीको रूपमा मनाउने चलन छ । आज आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ खुवाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न गराउने र लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् । आमा र सन्तानबिचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरूमा मातालाई पिताभन्दा अझै उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई माता तीर्थ औँसी, मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।
आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर श्रीमानका घर गएका चेलीबेटीहरू मिठा परिकारहरू सहित आमा घर अर्थात् माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत पनि सम्झने गर्दछन् । मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्दछन् । धर्मशास्त्रका पुस्तकहरू हेर्दा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको पाइन्छ, ‘मातृदेवो भव:’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेव भव:’, ‘आचार्यदेवो भव:’ भनिन्छ, यसैबाट समेत आमालाई महत्त्व दिएको स्पष्ट हुन्छ’ । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।
जनश्रुति अनुसार पहिले माता तीर्थमा गोठालाहरूले गाईबस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाले पुन अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरू मध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले विभिन्न मिष्ठान भोजन लगेर चढाउन थाले पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा मीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो ।
आमाप्रतिको श्रद्धास्वरुप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ । माता तीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ ।आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । देवीको प्रतिरूप, ममताकी खानी र वालापनामा हाम्रा हरेक इच्छा, आकाङ्क्षा पूरा गरिदिने कल्पवृक्ष सरी यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ । मातृ देवो भव: