हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी गाउँपालिकामा सञ्चालन गरिएका विभिन्न गतिविधिको बुधबार स्थलगत अनुगमन गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, विभिन्न शाखाका कर्मचारीहरू र परियोजना टिमको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले वडा नम्बर २ स्थित कञ्ज हाटबजार क्षेत्र, झोलुङ्गे पुल नजिकैको घर बगैँचा खेती तथा तरकारी उत्पादन स्थल, कसुवास्थित आइपिएम कृषक पाठशाला, खर्रा नालामा निर्माणाधीन जैविक तटबन्ध, कसुवामै सञ्चालित स्थानीय नास्ता पसल र जुनेली महिला कृषि सहकारी संस्थाको गतिविधिको अवलोकन गरेको थियो ।

गाउँपालिका अध्यक्ष निर्मल रानाले यस परियोजनाले ग्रामीण समुदायको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले परियोजनाबाट उद्यमशीलता र कृषिमा आधारित स्वरोजगार प्रवर्द्धनमा टेवा पुगेको उल्लेख गर्नुभयो । उपाध्यक्ष सपना चौधरी रानाले कार्यक्रमले महिला, युवा र विपन्न वर्गलाई लक्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्य गरिरहेको बताउनुभयो । उहाँले स्थानीय स्रोतको उपयोगमार्फत दिगो विकासको अभ्यास भएको धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले आयोजनाबाट गरिबी न्यूनीकरण र स्थानीय पूर्वाधार सुदृढीकरणमा सहयोग पुगेको जनाउनुभयो । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले परियोजना स्थानीय आवश्यकता अनुसार बनाइएको र सहभागितामूलक पद्धतिमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । कारितास नेपालका कार्यक्रम अधिकृत छेगुरा चौधरीले परियोजना जीवनस्तर उकास्ने, वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने र समावेशी विकासलाई प्राथमिकता दिने उद्देश्यसहित अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

परियोजनाका गतिविधिहरूले किसानमा व्यावसायिक सोच विकास गरेको, आयआर्जनका नयाँ अवसर सिर्जना गरेको र उपभोक्तामा जैविक उत्पादनप्रति आकर्षण बढाएको अनुगमनमा सहभागीहरूको निष्कर्ष रहेको छ । उक्त परियोजना सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुने गरी सक्रिय रहेको परियोजनाका संयोजक एवं कृषि प्राविधिक अधिकृत दीपक चौधरीले बताउनु भयो । पालिकाको साझेदारीमा अगाडि बढाइएको यस परियोजनाले स्थानीय समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

