हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ जेठ । कञ्चनपुरका बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा सात दिने ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ सुरु गरिएको छ । विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न तालिमको आयोजना गरिएको हो । मंगलबार सुरु भएको तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरको समन्वयमा, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (पुन्ना) डोटी, Practical Action तथा PESWAN को सहकार्यमा सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले तालिममा विपद् पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो । "विपद्का बेला सशस्त्र प्रहरी मात्र होइन, समुदाय स्वयं पनि सक्रिय हुन जरुरी छ," उहाँले भन्नुभयो, "त्यसैले यस्ता तालिमहरूले दीर्घकालीन लाभ दिन्छन् ।" इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले विपद् न्यूनीकरणमा नेपाल प्रहरी सबै पक्षसँग सहकार्य गर्दै पूर्व तयारीमा जुटेको बताउनु भएको छ ।
बेलौरीमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले विपद् व्यवस्थापनलाई स्थानीय तहबाट सशक्त बनाउने योजना सुनाउनु भयो । “बेलौरी बाढी, डुबान र आगलागीको उच्च जोखिममा रहेको क्षेत्र हो," नगरप्रमुख चौधरीले भन्नुभयो, "स्थानीय स्वयंसेवकहरूलाई तयार पारेर केही हदसम्म यस्तो चुनौतीको सामना गर्न सकिन्छ ।” बेलौरी नगरपालिका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले तालिममार्फत समुदायस्तरमा विपद् व्यवस्थापन क्षमताको विकास गरिनु तालिमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
लालझाडी गाउँपालिकामा पनि सोही प्रकारको तालिम सुरु गरिएको छ । तालिम कार्यक्रम गाउँपालिका अध्यक्ष निर्मल राना, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो, “सिर्जनशील र व्यावहारिक तालिमले गाउँमा विपद्को सामना गर्ने क्षमता अभिवृद्धि गर्छ ।”
लालझाडीका विपद् सम्पर्क व्यक्ति हेमराज उपाध्यायले तालिमले गाउँस्तरसम्म विपद् व्यवस्थापनको सोच र अभ्यास विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिम असार २ गतेसम्म सञ्चालन हुने बताइएको छ । तालिममा स्थानीय स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।