हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ साउन । कञ्चनपुरका बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रका मानव बस्तीमा पछिल्ला केही दिनयता बाघ र चितुवाको सक्रियता बढेपछि स्थानीय बासिन्दामा त्रासमा फैलिएको छ । लगातार रूपमा बाघजस्ता वन्यजन्तुहरू बस्ती नजिक देखिन थालेपछि वन प्रशासन र सरोकारवाला निकायले खोजी कार्य तीव्र बनाएको छ । बेलौरी नगरपालिका वडा नम्बर ९ मा मंगलबार साँझ बाघसहित दुई वटा डमरु देखिएको स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्ती सहित प्राविधिक टोली परिचालन गरेको छ ।
वडाध्यक्ष किसनसिंह रानाका अनुसार एक पोथी र दुई भाले हात्तीसहितको टोली परिचालित भए पनि प्रारम्भिक खोजीमा सफलता हात नपरेपछि टोलीले बेलौरी ९ अन्तर्गत कुण्डा क्षेत्रको वैजनाथ मध्यवर्ती सामुदायिक वनमा डेरा जमाएर खोजी जारी राखेको छ । वडाध्यक्ष रानाले पछिल्ला दिनमा बाघ प्रजातिका जनावर देखिएको भन्दै स्थानीय त्रसित रहेको बताउनुभयो । “बाघ वा चितुवा यकिन हुन बाँकी भए पनि बाघ प्रजातिका जनावर देखिएपछि बस्तीमा त्रासको वातावरण बनेको छ,” उहाँले भन्नुभयो । खोजी कार्यमा हात्ती सहित प्राविधिक टोली सहित शुक्रवारदेखि ड्रोन क्यामेराबाट निगरानी गर्ने तयारी गरिएको छ ।

यसअघि गत साता बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा बाघ पसेको खबरपछि दुई दिनसम्म हात्ती सहित प्राविधिक टोलीले खोजी कार्य गरेको थियो तर केही पनि फेला पर्न सकेन । यस्तै, बुधबार दिउँसो पुनर्वास नगरपालिका वडा नम्बर ४ र ६ को सीमावर्ती उखुबारी क्षेत्रमा समेत बाघ देखिएको सूचना प्राप्त भएपछि खाेजीकार्यमा टोली सक्रिय बनेको थियो । वडा नम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाका अनुसार त्यहाँ पनि खोजी गरिए तापनि बाघ फेला परेको छैन ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मानव बस्ती नजिक वन्यजन्तु देखिने क्रम बढेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । निकुञ्जसँग समन्वयमा प्राविधिक टोली परिचालन गर्दै बाघ वा चितुवा पत्ता लगाउने प्रयास भइरहेको छ भने स्थानीय वासीलाई सचेत रहन भनिएको छ ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्न थालेसँगै दीर्घकालीन समाधानका उपायबारे बहस पनि सुरु भएको छ । संरक्षित क्षेत्र नजिकका बस्तीहरूमा सुरक्षा पूर्वाधार, जनचेतना तथा वन्यजन्तु अनुगमन प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनु भएको छ । यसैबिच, बाघ तथा चितुवाको सटीक पहिचान, स्थान ट्र्याकिङ, बस्तीमा पस्न नदिन ब्यारियर निर्माणजस्ता उपायमार्फत दीर्घकालीन नीति तर्जुमा गरिनुपर्ने माग पनि उठ्न थालेको छ । वन्यजन्तुको संरक्षण र मानव सुरक्षाबीचको सन्तुलन मिलाउन तत्कालीन तथा रणनीतिक हस्तक्षेपको खाँचो देखिएको छ ।