मकाउ, ०१ सेप्टेम्बर । सुदूरपश्चिमेलीहरूको अत्यन्तै महत्त्वपूर्ण चाड गौरा पर्वले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत स्थान पाउन थालेको छ । अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा रहनु भएका नेपालीहरू जमघट भएर गौरा पर्वलाई भव्यताका साथ मनाउने गरेका खबरहरू प्राप्त भइरहेका छन् । त्यसै क्रममा, सुदूरपश्चिमेली नेपाली समाज मकाउले ‘गौरा पर्व : २०२५’ को अवसरमा शुभकामना आदानप्रदान तथा भोज कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका छन् ।
अगस्ट ३१ तारिख साँझ नाम भानस्थित द हिमालयन हाउसमा आयोजित कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज मकाउका संस्थापक एवम् संरक्षक पदम सिंह पन्तले शुभकामना मन्तव्य दिँदै गौरा पर्व विशेष कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा समाजका अध्यक्ष दिनेश ऐरको अध्यक्षता रहेको थियो । सुदूरपश्चिमेली नेपाली समाज मकाउले विदेशमा रहेका नेपालीबीच आफ्नो मौलिक पर्वलाई निरन्तरता दिँदै संस्कृतिको संरक्षण र आपसी सद्भाव बढाउने उद्देश्यका साथ हरेक वर्ष यसरी नै ‘गौरा पर्व’ मनाउँदै आएको छ ।
कार्यक्रममा अतिथि व्यक्तित्वहरू जय तामाङ, भीम किराँती राई, चण्डी योङ्हा, कल बहादुर तामाङ, उत्सव सापकोटा, बिन्दु सुनुवार, शशि खड्का, अनिल हमाल, सुजन काफ्ले र उत्तर प्रवीण खड्कालाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा उच्च सम्मानका साथ आमन्त्रित गर्ने जानकारी दिइएको छ । गौरा पर्वको अवसरमा उपस्थित सबैले एक अर्कालाई शुभकामना आदानप्रदान गर्नु भएको छ । मकाउका विभिन्न भिभिआइपीहरू, अब्बल व्यापारी, दिग्गज समाजसेवी तथा उच्च छवि भएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहँदा कार्यक्रम अझै भव्य र सभ्य बनेको सुदूरपश्चिमेली नेपाली समाज मकाउका संस्थापक एवम् संरक्षक पदम सिंह पन्तले जानकारी दिनुभयो ।
“विदेशमा रहे पनि आफ्ना मौलिक पर्वलाई निरन्तरता दिँदै संस्कृतिको संरक्षण र आपसी सद्भाव बढाउनु हाम्रो प्रमुख उद्देश्य हो,”- पदम सिंह पन्त, संस्थापक एवम् संरक्षक, सुदूरपश्चिमेली नेपाली समाज मकाउ ।
समाजले विगतका वर्षहरूजस्तै यस वर्ष पनि ‘गौरा पर्व’लाई भव्य, सभ्य र गरिमामय वातावरणमा सम्पन्न गर्दै विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीबीच आपसी आत्मीयता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ ।