हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० भदौ ।
गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौँस्थित मुख्य कार्यालय एनसेल आइकन लगायत महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा ठूलो क्षति पुर्याएको कम्पनीले जनाएको छ । ती घटनाले भौतिक क्षतिसँगै कर्मचारीको सुरक्षामा र सेवाको निरन्तरतामा गम्भीर जोखिम उत्पन्न भएको एनसेलले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
तर पनि, सङ्कटको घडीमा सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एनसेलले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको छ । कम्पनीका अनुसार विगत २० वर्षदेखि देशभरका ग्राहकलाई दूरसञ्चार सेवामा सहज पहुँच दिलाउन निरन्तर लागिरहेको र यही प्रतिबद्धता आगामी दिनमा झन् दृढताका साथ अघि बढाइनेछ ।
अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको अवस्थामा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । युवाहरूको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई कम्पनीले स्वागत गर्दै यसबाट मुलुकमा एकता, शान्ति र समृद्धि आउने आशा व्यक्त गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रूपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र ‘डिजिटल नेपाल’ निर्माणमा आफ्नो भूमिकालाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि एनसेलले दोहोर्याएको छ । कम्पनीले कर्मचारी, ग्राहक तथा आम जनसमुदायले देखाएको समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै, “हामी फेरि उठ्नेछौँ, तपाईँहरूसँगै” भन्ने सन्देश दिएको छ ।
यस्तै, आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभेच्छा पनि कम्पनीले प्रकट गरेको छ ।
