हरिश्चन्द्र बाग, कञ्चनपुर, ७ असोज । वडा दशैँ, तिहार र छठजस्ता महत्त्वपूर्ण पर्वमा भारत-नेपाल सिमानाबाट हुने आवतजावतलाई सहज र सुरक्षित बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिका ११, गड्डाचौकीस्थित ७ नम्बर पिल्लर नजिक होल्डिङ सेन्टरमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यो सहायता कक्षमार्फत सीमा नाकाबाट दैनिक रूपमा प्रवेश गर्ने तथा निस्कने यात्रुलाई आवश्यक जानकारी, मार्गदर्शन, स्वास्थ्य सुरक्षासम्बन्धी सहयोग र समन्वय सहज रूपमा उपलब्ध भइरहेको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले स्थापना गरिएको यस कक्षले पर्वका बेला यात्रुहरूले कुनै असुविधा भोग्न नपरोस् भन्ने अपेक्षा गरिएको छ ।

सहायता कक्षको उद्घाटन तथा अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बरबहादुर बिक, सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनी अत्तरियाका प्रमुख प्रदीप पाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्री लगायत सुरक्षा निकायका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उत्साहजनक उपस्थिति थियो ।

कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार यस कक्षमार्फत यात्रुको आवतजावत सुरक्षित बनाउन, सुरक्षासम्बन्धी समन्वय गर्न र आवश्यकता अनुसार तुरुन्त सहयोग पुर्याउन सकिनेछ । उहाँले भन्नुभयो, “सहायता कक्ष यात्रुका लागि मार्गदर्शक बनेर काम गर्नेछ, जसले गर्दा चाडपर्वको यात्रामा सहजता र सुरक्षाको अनुभव हुनेछ ।” यस पहलले सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई राहत पुग्ने र यात्रु सेवा थप व्यवस्थित हुने विश्वास गरिएको छ ।
