हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ पुस । कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समिति चयनका लागि शनिबार मतदान भएको छ । यसअघि संघका ६ पदाधिकारी र एक संस्थागत सदस्य निर्विरोध निर्वाचित भइसक्नु भएको थियो भने कोषाध्यक्ष र सात सदस्य पदका लागि शनिबार निर्वाचन गरिएको हो । संघमा रहेका कुल २ हजार २२१ मतदातामध्ये १ हजार ३४४ जनाले मात्र मतदान गर्नु भएको छ । शनिबार अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन समितिका अनुसार मतगणना आइतबार बिहान ९ बजेदेखि सुरु गरिने छ ।

कोषाध्यक्ष पदका लागि प्रदीप पाल र सिद्धराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसै गरी सदस्य पदका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सदस्य पदका उम्मेदवारहरूमा जगदीश चन्द्र भट्ट, सरिता भण्डारी, लोकराज भट्ट, गोविन्द भट्ट, पारस जोशी, नीरज गुप्ता, पुरन पाण्डेय, देवदत्त जोशी, भोजराज अवस्थी, गङ्गा सिंह धामी, कृष्ण राना, हेमराज भट्ट र सञ्जय कुमार भट्ट हुनुहुन्छ ।

यसअघि संघको अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट र सचिवमा एनपी जोशी निर्विरोध निर्वाचित भइसक्नु भएको छ । त्यसै गरी संघको संस्थागत सदस्यतर्फ गजेन्द्र विक्रम थापा पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनको मत परिणामपछि संघको नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने र कञ्चनपुरको उद्योग व्यवसाय क्षेत्रको भावी कार्यदिशा थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
