प्रकाश भट्ट, कञ्चनपुर, १२ चैत । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ स्थित पटराखल्लामा इन्टरलक ब्लकको प्रयोग गरी जलवायु उत्थानशील घर निर्माण कार्य सुरु गरिएको छ । जगबुडा नदीको तटीय क्षेत्रमा अवस्थित र प्रत्येक वर्षको वर्षातमा बाढी तथा डुबानको उच्च जोखिम झेल्दै आएको यस समुदायमा पहिलोपटक वातावरणमैत्री, किफायती र बलियो प्रविधिबाट सुरक्षित आवास निर्माण कार्य सुरु गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) परियोजना अन्तर्गत स्थानीय बासिन्दाहरूलाई नै घर निर्माणको सीप र प्रविधिमा सहभागी गराई उक्त कार्यको सुरुवात गरिएको हो ।

सीआरसी परियोजना संयोजक महेश घिमिरेले जगबुडा नदीको बाढीका कारण गत वर्ष मात्रै ४ देखि ५ फिटसम्म पानी जमेर झन्डै ३२ परिवार विस्थापित भई विद्यालयमा आश्रय लिनुपरेको र माटोका कच्ची घरहरू प्रत्येक वर्ष भत्किने समस्याको दीर्घकालीन समाधानका लागि यो घर निर्माण सुरु गरिएको बताउनुभयो । समुदायसँगको छलफल र विस्तृत अध्ययनपछि इन्टरलक ब्लक जलवायु मैत्री र सस्तो लागतमा बन्न सक्ने देखिएपछि समुदायलाई नै मेसिन र तालिम प्रदान गरी उत्पादन र निर्माणमा सक्षम बनाइएको उहाँले बताउनुभयो । परियोजनाको मुख्य उद्देश्य नै समुदायलाई बाढीजन्य विपत्सँग लड्न र जुध्न तयार बनाउनुका साथै उनीहरूलाई प्राविधिक रूपमा आत्मनिर्भर र सुरक्षित आवासको मालिक बनाउनु रहेको उहाँले बताउनुभयो । यस प्रविधिको सफल प्रयोगले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका अति विपन्न बासिन्दाहरूको आवास सुरक्षामा ठूलो र सकारात्मक परिवर्तन ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

इन्जिनियर दिपेश पन्तले समुदायकै ९ जना व्यक्तिहरूलाई घर बनाउने विशेष तालिम प्रदान गरिएको र अहिले उनीहरू नै यो घर निर्माणमा खटिएको बताउनुभयो । इन्टरलक ब्लकबाट बनेका घरहरू अरूको तुलनामा निकै मजबुत हुनुका साथै यो भूकम्प प्रतिरोधी र तटीय क्षेत्रको ओसिलो माटो सुहाउँदो वातावरणमैत्री समेत हुने उहाँले बताउनुभयो । रातो इँटाको तुलनामा यसमा सिमेन्ट र बालुवाको खपत निकै कम हुने भएकाले निर्माण लागत घट्ने र घरको फिनिसिङ समेत आधुनिक र आकर्षक देखिने उहाँले बताउनुभयो । स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरी मेसिनबाटै ब्लक उत्पादन गर्न सकिने भएकाले यो प्रविधि विपद् जोखिम न्यूनीकरण र दिगो विकासको उत्कृष्ट नमुना भएको उहाँको भनाइ रहेको छ ।

घर निर्माण गरिरहेकी स्थानीय दुर्पता शाहीले विगतमा बाढी र डुबानका कारण माटोका कच्ची घरहरूमा प्रत्येक वर्ष क्षति हुने र भित्ताहरू भत्किने समस्या रहेको बताउँदै अब बलियो घरको निर्माण सुरु भएपछि बाढीको डर कम हुने विश्वास व्यक्त गर्नुभयो । बाहिरको रातो इँटाभन्दा यो एकदमै सस्तो परेको र बलियो घर बनेपछि वर्षातको समयमा बालबच्चा र सरसामान जोगाउन विस्थापित भई भौतारिनुपर्ने चिन्ताबाट मुक्त हुने आशा पलाएको उहाँले बताउनुभयो ।

घर निर्माणमा खटिएका स्थानीय मिस्त्री डम्बर बहादुर सुनारले रातो इँटाको तुलनामा इन्टरलक ब्लकबाट घर बनाउन निकै सजिलो र छिटो हुने तथा हेर्दा पनि परम्परागत घरभन्दा फरक र आकर्षक बन्ने बताउनुभयो । तालिम पाएपछि आफ्नै समुदायमा घर निर्माण गरी आयआर्जन गर्न सहज भएको र यसले गर्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गरी स्थानीय स्तरमै स्वरोजगारी सिर्जना गरेको उहाँले बताउनुभयो । यो ब्लक एकआपसमा ‘लक’ हुने भएकाले निर्माण गर्दा गारो लगाउन प्राविधिक रूपमा सजिलो हुने र फिनिसिङ गर्दा प्लास्टर नगर्दा पनि सुन्दर देखिने भएकाले अन्य उपभोक्ताको समेत आकर्षण बढ्ने उहाँले बताउनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले जलवायु परिवर्तनका कारण निम्तिने प्राकृतिक विपद्लाई सामना गर्न स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग गरी समुदायलाई आत्मनिर्भर बनाउनु संस्थाको मुख्य प्राथमिकता रहेको बताउनुभयो । उहाँले यस्ता नवीन र किफायती प्रविधिले विपद् जोखिम न्यूनीकरणमा कोसेढुङ्गा सावित हुने र भविष्यमा अन्य जोखिमयुक्त तटीय क्षेत्रहरूमा पनि यसलाई विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदायलाई मात्र राहत र उद्धारमा सीमित नराखी उनीहरूको दिगो जीविकोपार्जन र सुरक्षित आवास सुनिश्चित गर्नका लागि एनएनएसडब्लुएले निरन्तर यस्ता सीपमूलक र प्रविधि मैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पटराखल्लामा सुरु गरिएको यो आवास निर्माण कार्य सराहनीय र उदाहरणीय रहेको बताउनुभयो । समुदायका मान्छेहरू नै यसरी सक्रिय भएर आफ्नै घर निर्माणमा खटिनु र नवीन प्रविधिलाई आत्मसात गर्नु ठूलो उपलब्धि भएको भन्दै उहाँले यो प्रशंसनीय कार्यका लागि एनएनएसडब्लुए र मर्सीकोर नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिकाले समुदायको हितका लागि सधैँ यस्ता सकारात्मक पहलहरूलाई प्रोत्साहन गर्ने र आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग एवं समन्वयका लागि नगरपालिका तयार रहने उहाँले बताउनुभयो ।