हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ चैत । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वय र सहजीकरणमा बिहीबार आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लागू औषध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा बसेको उक्त बैठकमा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रदेश र स्थानीय तहका सम्बन्धित शाखाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बैठकले जिल्लामा बढ्दो लागू औषधको जोखिम नियन्त्रण गर्न समन्वित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ भने विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन रणनीतिक कदमहरू अघि बढाइएको छ ।
वन डढेलो नियन्त्रणमा पूर्वतयारी ।।
बैठकले “वन डढेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२” अनुरूप कञ्चनपुर जिल्लाको आफ्नै कार्ययोजना स्वीकृत गरेको छ । यस निर्णयसँगै आगलागीजन्य विपद् न्यूनीकरणका लागि पूर्वतयारी, स्रोत व्यवस्थापन र समन्वयलाई थप सुदृढ गरिने अपेक्षा गरिएको छ ।
सरकारी जग्गा उपयोगमा ठोस निर्णय ।।
बैठकले विभिन्न स्थानका सरकारी जग्गा विपद् व्यवस्थापनका लागि आवश्यक नपर्ने ठहर गर्दै अन्य प्रयोजनका लागि उपयोग गर्ने सिफारिस अनुमोदन गरेको छ । भीमदत्त नगरपालिका क्षेत्रभित्र पर्ने जग्गा तथा अन्य स्थानका जग्गाहरू प्राविधिक शिक्षालय निर्माण, सरकारी कार्यालय भवन निर्माण लगायतका कार्यका लागि उपयोग गर्ने बाटो खुलेको छ । यसले स्थानीय पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
वन क्षेत्रका जोखिम व्यवस्थापन ।।
कृष्णपुर नगरपालिका २ स्थित ग्वालाबारी सामुदायिक वनमा हावाहुरीलगायत प्राकृतिक विपद्का कारण ढलेका रुखहरूको व्यवस्थापनका लागि विशेष समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । यस कार्यलाई कानूनी प्रक्रिया अनुसार पारदर्शी र दीर्घकालीन प्रभाव नपर्ने गरी सञ्चालन गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाइएको छ ।
गैरसरकारी संस्थासँग समन्वय ।।
विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरू पिसवान, निड्स नेपाल र एनएनएसडब्ल्युए लगायतका संस्थाहरूलाई राष्ट्रिय नीति तथा निर्देशिकाअनुसार स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । यस्ता कार्यक्रममार्फत विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता अभिवृद्धि तथा नागरिकस्तरमा सचेतना विस्तार गरिने जनाइएको छ । साथै, कार्यक्रमको प्रगति प्रतिवेदन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
लागू औषध नियन्त्रणमा जोड ।।
बैठकले लागू औषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै सरोकारवाला सबै निकायबीच सहकार्य र प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । कञ्चनपुरमा बसेको यो बैठकले एकैसाथ सामाजिक समस्या (लागू औषध) र प्राकृतिक विपद् व्यवस्थापन दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू गरेको देखिन्छ । समन्वय, नीति कार्यान्वयन र स्थानीय तहको सक्रियताले अब यी निर्णयहरूको प्रभावकारिता निर्धारण गर्नेछ ।