हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ असार । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कञ्चनपुरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा बसेको बैठकले योग दिवस भव्य रूपमा मनाउने निर्णय गरेको हो । बैठकले युवा तथा विद्यार्थीहरूमा योगप्रति आकर्षण बढाउने उद्देश्यले असार ०६ गते बिहान ७:०० बजे भीमदत्त नगरपालिका-१८ स्थित गौरादेवी मन्दिरको सभा हलमा योगासन प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता पतञ्जलि योग समिति कञ्चनपुर र आयुर्वेद औषधालयको समन्वयमा सञ्चालन हुनेछ ।
त्यस्तै, १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम असार ०७ गते बिहान ५:०० बजे जिल्ला समन्वय समितिको दक्षिणतर्फ रहेको खुला चौरमा आयोजना गरिने भएको छ । पतञ्जलि योग समिति कञ्चनपुरको समन्वयमा सञ्चालन हुने कार्यक्रममा महेन्द्रनगरस्थित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, व्यवसायी तथा सर्वसाधारणलाई सहभागी हुन अनुरोध गरिएको छ ।
यसैबीच, पतञ्जलि योगपीठ कञ्चनपुरले पनि योग दिवसको अवसरमा सबैलाई आह्वान गरेको छ । “स्वस्थ शरीर, शान्त मन, समृद्ध समाज” भन्ने नारासहित महेन्द्रनगरस्थित योगपार्क (दशरथ चोकदेखि सिद्धनाथ मन्दिर मूल गेटबीच) मा असार ०७ गते बिहान ५:०० बजेदेखि सञ्चालन हुने सामूहिक योग कार्यक्रममा सबै योगीहरूलाई आमन्त्रण गरिएको छ । पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य तथा योगशिक्षक लवराज भट्टले सम्पूर्ण महेन्द्रनगरवासी, योग साधक, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी तथा स्वास्थ्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा दिनु भएको छ ।

विश्वभर योग दिवस स्वस्थ, सुखी र तनावमुक्त जीवनको सन्देश फैलाउने उद्देश्यले मनाइँदै आएको छ । दैनिक योग अभ्यासले शरीर, मन र आत्मालाई सन्तुलित राखी रोगमुक्त तथा ऊर्जावान जीवनयापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । बैठकले विविध कार्यक्रममार्फत योग दिवस भव्य रूपमा मनाउन कञ्चनपुरका सबै संघसंस्था तथा नागरिक समाजलाई आग्रह गरेको छ । साथै, कार्यक्रम सफल बनाउन गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, कञ्चनपुर उद्योग वाणिज्य संघ लगायतका संस्थासँग सहयोग अनुरोध गरिएको छ । योगस्थलको सरसफाइ तथा व्यवस्थापनको जिम्मेवारी भीमदत्त नगरपालिकालाई दिइएको छ ।