परराष्ट्र मन्त्री एनपी साउदले राहदानी विभागलाई हरेक नागरिकले पाउने सेवा सुविधाहरू समयमै उपलब्ध गराउन निर्देशन दिएका छन् । त्रिपुरेश्वरस्थित विभागको आइतबार अनुगमन गर्दै उनले सेवाग्राहीलाई सेवा सुविधाहरू समयमै उपलब्ध गराउन महानिर्देशक सुरेन्द्र यादवलाई निर्देशन दिएका हुन् । ‘मैले सबै नागरिकहरूले आफ्नो अधिकारबमोजिम पाउने सेवा सुविधाहरू उचित किसिमले समयमा उपलब्ध गराउनु पर्छ भनेर भनेको छु,’ विभागको अनुगमनपछि मन्त्री साउदले भने, ‘यसमा केही कमीकमजोरी भएको छ भने पनि त्यसलाई हटाउनका लागि म फेरि समीक्षा गरेर निर्देशन दिन्छु।’ उनले अनुगमनका क्रममा सेवाग्राहीले राहदानी बनाउँदा ढिलासुस्ती हुने गरेको आफूलाई गुनासो गरेको पनि बताए ।
‘मैले केही सेवाग्राहीहरूलाई सोधेँ, अलिकति ढिलाइ छ भन्ने सिकायत गरेका छन् । अलि स्पेस कम भयो भन्ने कुरा पनि आएको छ,’ साउदले भने, ‘विशेष गरेर सेवाग्राहीलाई ओपन स्पेस छैन, बस्नलाई पनि ठाउँ कम भयो भन्ने कुरा पनि आएको छ । यी सबै कुराको अध्ययन गरेर म हेर्छु ।’ उनले राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीहरूले भोग्नु परेको कठिनाइ बारे बुझ्न आफू आएको पनि बताए । मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारी सँगसमेत छलफल गरेका थिए । ‘यो ठाउँका विशेष गरेर उपभोक्ताहरूलाई के कस्तो कठिनाइ छ। गाह्रो परिराखेको छ कि के छ, यहाँ कर्मचारीले कसरी काम गरिराख्नुभएको छ भनेर हेर्न आएको हुँ,’ परराष्ट्र मन्त्री साउदले भने । दैनिक हजारौँ सर्वसाधारण राहदानी लिनका लागि लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ । यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि यो कार्यालयको अनुगमन गरेका थिए ।