हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कठपुतलीको संज्ञा दिनु भएको छ । चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुग्नु भएका ओलीले वर्तमान सरकार जनताको जनजीविकालाई बेवास्ता गर्दै सत्ता लोलुपतामा डुबेको र त्यसैको निरन्तरताका लागि बेमेल गठबन्धन गरेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रियतादेखि आम नागरिकको जनजीविकाका सवालमा नेकपा एमाले दृढ रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लागि देशलाई नेकपा एमालेको सरकार आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सुरु गरिएका विकास निर्माणका योजनाहरूको बारेमा समेत फेहरिस्त प्रस्तुत गर्नुभयो । आगामी समयमा नेकपा एमालेको सरकार बनाई थप विकासका ढोका खोल्ने ओलीले प्रतिबद्धता जनाउनु भयो ।
सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले राष्ट्रको जीवन सूर्यमा रहेकोले नेकपा एमालेप्रति मतदाताको शुभेच्छाको आशा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा सुदूरपश्चिमको विकासका लागि जहिले पनि अग्रणी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनु भयो । नेकपा एमालेका सबै उम्मेदवार सक्षम रहेकोले मङ्सिर ४ को परिणाम केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा चुनावी सभा गरिएको नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टले बताउनु भयो । सोही सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूको समेत सहभागिता रहेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । नेकपा एमाले र राप्रपाले कञ्चनपुर क्षेत्र नम्बर ३ मा चुनावी तालमेल गरेको छ ।

