कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले अबको व्यवसाय समय सन्दर्भ अनुसार चल्ने हुँदा त्यस तर्फ व्यवसायीहरू केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको छ । कञ्चनपुरको बेलौरीमा पिएसपी ग्रुपले सञ्चालनमा ल्याएको यामाहा मोटरसाइकल स्वरुमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री तामाङले युवा पुस्ताको बजारले माग गरे बमोजिमको व्यावसायिक कारोबार गर्दा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मोटरसाइकल चलाउँदा सबैले अनिवार्य रूपमा हेलमेटको प्रयोग गर्न पनि अनुरोध गर्नु भएको छ ।
सोही समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमला बोहराले परिवर्तित जीवनशैलीमा आवश्यकताका रूपमा मोटरसाइकलको व्यापक प्रयोग बढिरहेको समयमा सहज आपूर्तिका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले विगतमा मोटरसाइकल खरिद गर्न र सामान्य मर्मत गर्नका लागि समेत धनगढी, महेन्द्रनगर वा भारतीय बजारमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्ने गरी स्थानीय बजारमै मोटरसाइकलको सहज पहुँच हुनुले सबैलाई सहज बनाइदिएको उल्लेख गर्नुभयो ।
गत असोज २१ गते घटस्थापनाका दिन अनौपचारिक रूपमा सञ्चालनमा ल्याइएको स्वरुमको पिएसपी ग्रुपले पुस १८ गते आइतबारका दिन औपचारिक समारोहका बिच उद्घाटन गरेको हो । यामाहा स्वरुमले हालसम्म १०२ वटा स्वरुमको स्थापना गरिसकेको र यसै वर्ष देशैभर १२० वटा स्वरुम पुर्याउने लक्ष्य रहेको यामाहा कम्पनीका महाप्रबन्धक हरि दहालले बताउनु भयो । बेलौरी शाखाबाट नयाँ मोटरसाइकल र स्पेयर पार्टस बिक्री तथा मर्मतको सुविधा समेत रहेको स्वरुमका सञ्चालक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उक्त स्वरुममा कम्प्युटर प्रविधिबाट मोटरसाइकलको समस्या पत्ता लगाई मर्मत गर्ने सुविधा समेत रहेको उहाँले बताउनु भयो ।
सो समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, उद्योगी, व्यवसायी, व्यापारीहरू तथा कञ्चनपुर र कैलालीका विभिन्न क्षेत्रबाट मोटरसाइकल स्वरुमका सञ्चालकहरू लगायतको उपस्थिति रहेको थियो । पिएसपी ग्रुपका प्रतिनिधि मोहन प्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नु भएको गरेको कार्यक्रमको सहजीकरण सङ्गीत श्रेष्ठले गर्नुभएको थियो । विगत लामो समयदेखि कञ्चनपुरको पुनर्वासमा व्यवसाय गरिरहनु भएका मथुरा श्रेष्ठका छोरा प्रकाश श्रेष्ठ तथा उहाँका समकक्षीहरूले पिएसपी ग्रुपको स्थापना गरी व्यवसाय सुरु गरेको बताइएको छ ।