हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको बेलौरीमा रहेको महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई गमला सहयोग गरेको छ । बैङ्कले रु. ४३ हजार ९ सय मूल्य बराबरका १७० थान गमला शुक्रबार एक कार्यक्रमका बिच क्याम्पसलाई प्रदान गरेको महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी दिनुभयो ।
क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई नि:शुल्क रूपमा गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताउनु भयो । उक्त कार्य बैङ्कको सामाजिक उत्तरदायित्वका रूपमा रहेको उहाँको भनाइ छ । यसका अतिरिक्त बैङ्कले वित्तीय साक्षरता कार्यक्रम, घरदैलो कार्यक्रम, विभिन्न किसिमका सहयोग कार्यक्रम समेत गर्दै आएको छ ।
महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीद्वारा आयोजित गमला हस्तान्तरण कार्यक्रमका महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्ट, सञ्चालक समितिका सदस्य केशव राज जोशी, क्याम्पस प्रमुख धर्मराज जोशी सहित प्राध्यापकहरू, महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीका प्रबन्धक राम बहादुर विक सहित कर्मचारीहरू, पत्रकारहरू तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समेत उपस्थिति रहेको बताइएको छ ।
