कञ्चनपुर । कञ्चनपुरको बेलौरी सहित देशका विभिन्न सात स्थानमा 'महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ' कार्यक्रम गरिएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सुरुवात गरेको 'महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ' कार्यक्रम अन्तर्गत गत हप्ता देशका विभिन्न ७ स्थानमा उक्त कार्यक्रम गरिएको छ । इन्स्योरेन्स कम्पनीले बेलौरी, लम्की, पोखरा, बेनी, बुटवल, चन्द्रगढी र वीरगन्जमा उक्त कार्यक्रम गरेको जनाइएको छ ।
पुस ४ गतेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत पुस १७ गते कञ्चनपुरको बेलौरीमा कार्यक्रम गरिएको कम्पनीका बेलौरी शाखा कार्यालय प्रमुख प्रदीप तिवारीले जानकारी दिनुभएको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ का महिला वडा सदस्य बिन्द्रावति रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो कम्पनीका क्षेत्रीय प्रमुख हर्क बहादुर बोहरा विशिष्ट अतिथि रहनु भएको थियो भने कार्यक्रममा ५५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । कम्पनीका एजेन्सी म्यानेजर लक्ष्मी बोहराको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा कम्पनीका क्षेत्रीय हर्क बहादुर बोहराले महिला सशक्तीकरण कार्यक्रमको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
बेलौरी उद्योग वाणिज्य संघको हलमा समाजका अगुवा महिला र जनप्रतिनिधिहरूको सहभागितामा गरिएको कार्यक्रमले तालिम, रोजगारी र आय वृद्धिमा लाग्नका लागि महिलाहरूमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ । त्यसअघि पुस १६ गते लम्की, पोखरा, बुटवल, बेनी, चन्द्रगढी र वीरगन्जमा पनि कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । महालक्ष्मी लाइफको यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/०८० भित्र ३० जिल्लामा सञ्चालन गरिने छ । यो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ६० जना र अप्रत्यक्ष रूपमा ३ हजार जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।