हरिश्चन्द्र बाग, १२ जेठ । कञ्चनपुरको बेलडाँडीमा अवस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बेलडाँडी गाउँपालिकासँग बजेट माग गरेको छ । स्ववियुका सभापति दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा बिहीबार गाउँपालिकामा गएको टोलीले गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानालाई क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक तथा समसामयिक समस्यालाई समाधन गरिदिन अनुरोध गर्दै विभिन्न ८ शीर्षकमा बजेट माग सहितको अनुरोध पत्र पेस गरेको हो ।
सोही क्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले विद्यार्थीको हकहितका लागि गाउँपालिकाबाट गर्न सकिने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । बेलडाँडी गाउँपालिकाकै एक मात्र क्याम्पस भएकोले पालिकाबाट विगतदेखि नै आर्थिक सहयोग गरिरहेको स्मरण गराउँदै अध्यक्ष रानाले क्याम्पसलाई थप व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिनुभयो ।