हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ माघ । कञ्चनपुरमा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण विशेष अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ४ सब्जीमण्डी स्थित करन साउँदको घर कोठाबाट लागु औषध चरेशको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने ४२ वर्षीय लोक बहादुर साउँद र वडा नम्बर २ बस्ने २४ वर्षीय डम्मर शाहलाई १.६६४ किलोग्राम चरेस सहित पक्राउ गरेको हो । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने ३० वर्षीया रेखा बडूको घरबाट १६७ ग्राम लागु औषध चरेस फेला पारी उनलाई पनि पक्राउ गरिएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।