हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ फागुन । कञ्चनपुर प्रहरीले ज्यान सम्बन्धी मुद्दाका फरार कसुरदार एक जनालाई १७ वर्ष ५ महिनापछि पक्राउ गरेको छ । फरार प्रतिवादी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टी बस्ने ५८ वर्षीय हर्क बहादुर ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनु भयो ।
२०६२ भदै २५ गतेका दिन करेन्ट लागी मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दाका प्रतिवादी हर्क बहादुर ऐडी सोही मितिबाट फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनकै घर ठेगानामा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरी बिहीबार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।