हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ भदौ । कञ्चनपुरको कलुवापुर–बेलौरी–बैशाखा भन्सार सडकखण्ड कालोपत्रेको काममा ढिलाइ हुँदा यस क्षेत्रका नागरिकहरुलाई निक्कै सास्ती भइरहेको छ । व्यापारका लागि समेत महत्वपूर्ण मानिएको कलुवापुर–बेलौरी–बैशाखा सडकखण्ड निर्माणका लागि चार दशक पहिले सर्वेक्षण भएको थियो भने २०७३ भदौमा २ वर्ष भित्र कालोपत्रे गरिसक्ने गरी सन्तोषी थेगिम जेभि निर्माण कम्पनीसंग नेपाल सरकारले ठेक्का सम्झौता गरेको थियो । यद्यपि ४ वर्ष पूरा भइसक्दा समेत उक्त सडकखण्ड कालोपत्रेको कामले अझैसम्म पनि गति लिन नसकेको भन्दै नागरिक स्तरबाट पुनः दबाबमूलक कार्यक्रम शुरु गरिएको बेलौरीका युवा दिनेश बिष्टको भनाइ छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि बेलौरी हुँदै सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्ने कञ्चनपुरको कलुवापुर–बेलौरी–बैशाखा सडकखण्ड कालोपत्रेको लागि ठेक्का लिएको निर्माण कम्पनी सन्तोषी थेगिम जेभिले समयमै काम अगाडि नबढाउँदा यहाँका नागरिकहरु कष्टकर यात्रा गर्न बाध्य छन् । कलुवापुर–बेलौरी–बैशाखा भन्सार सडकखण्ड निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको युवा व्यवसायी अशोक पाण्डेय (अम्बादत्त) को भनाइ छ ।
वि.सं. २०३४ साल तिर कलुवापुरदेखि भारतको खजुरिया पुरनपुर सब हाइवेसंग मिलान हुने गरी ४० किमी सडकको सर्भे डिजाइन गरिएको थियो । यद्यपि जिल्ला सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएपछि उक्त सडक निर्माणको कामले गति लिन नसकेको हो । हरेक राजनीतिक दलका उम्मेदवारको चुनावी एजेन्डामा उक्त सडकको स्तरोन्नति पहिलो प्राथमिकतामा पर्ने गरेको भएपनि चुनाव जितेपछि उक्त सडकखण्ड प्राथमिकतामा नपर्ने गरेको बेलौरीका अर्का युवा अर्जुन भण्डारीको गुनासो छ ।
सडक कालोपत्रेको ठेक्का पाएको सन्तोषी थेगिम जेभि निर्माण कम्पनीको चरम लापरबाहीका कारण कलुवापुर–बेलौरी–बैशाखा भन्सार सडकखण्डको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक कालेपत्रेको ठेक्का पाएपश्चात काममा ढिलाइ गर्दै पटकपटक म्याद थपेर राज्यको ढुकुटी रित्याउनु बाहेक कुनै काम नगरेको बेलौरीका अर्का युवा राम प्रसाद काफ्लेको भनाइ छ । यद्यपि प्रदेश सरकारले समेत बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्डलाई प्रदेशको गौरबको योजनामा राखेकोले केही झिनो आशा रहेको बेलौरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खडक शाहले उल्लेख गर्नुभयो ।
पुरानो डिपिआर अनुसार निर्माण कम्पनीले कलुवापुर देखि ५.५ मिटर चौडाइमा सडक कालोपत्रे गर्दै आइरहेको भए तापनि बन्साहा देखि बेलौरीसम्मको बाँकी सडकखण्डमा सिन्को समेत नभाँचेको भन्दै यहाँका युवाहरु चरणबद्ध संघर्षमा उत्रिएको क्षेत्र नम्बर १ युवा जागरण समाजले जनाएको छ । यसैबीच, आइतबार बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीसंग समेत उक्त सडकखण्डका विषयमा छलफल भएको र नगर प्रमुख चौधरीले एक महिना भित्रै पुनः काम सुचारु गराउने प्रतिबद्दता जनाउनु भएको राम प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।