हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, २० जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेका कम्युनिस्टहरूलाई 'नामका मात्र कम्युनिस्ट' भएको कटाक्ष गर्नुभएको छ । मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित प्रेम होटेल एण्ड पार्टी प्यालेसमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय भाव सम्प्रेषण तथा दोस्रो भेलामा प्रमुख अतिथि रहनु भएका डा. भट्टराईले देशमा परिवर्तनका नाममा राजनीति गर्ने धेरै दल र नेताहरू सत्ताको लोभमा परेर सिद्धान्तबाट विचलित भएको आरोप लगाउनुभयो ।

उहाँले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र सङ्घीय गणतन्त्र स्थापनाका क्रममा भएका ऐतिहासिक योगदानहरूको स्मरण गर्दै पछिल्लो समय मुलुक पुनः प्रतिगमनतर्फ उन्मुख हुँदै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । “सरकारमा रहेका दलहरूले दोहोरो चरित्र देखाइरहेका छन्,” उहाँले भन्नुभयो, “अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्र सम्भव छ ।” डा. भट्टराईले वर्तमान राजनीतिक दलहरूबिचको टकराव, भ्रष्टाचार र वैचारिक दिशा विहीनताले जनताको विश्वास गुमिरहेको उल्लेख गर्दै समाजवादी धारको नयाँ गठबन्धन निर्माण आवश्यक रहेको धारणा राख्नुभयो । आलोपालो सरकारको नेतृत्व गरिरहेका दलहरू केवल व्यक्तिगत स्वार्थमा केन्द्रित भएको समेत उहाँले आरोप समेत लगाउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष दुर्गा शोब, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. जनकराज शाह, केन्द्रीय सदस्य सत्यदेवी चापागाईँ, रतन टमाटा, सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको पार्टीका नेता तथा प्रदेश अधिवेशन आयोजक समितिका सहसंयोजक अमर सिंह बिष्टले जानकारी दिनुभयो । भेलाले आगामी अधिवेशनको तयारीका लागि हरि तिमिल्सेनाको संयोजकत्वमा ९ सदस्यीय अधिवेशन समिति गठन गरेको जिल्ला इञ्चार्ज देवेन्द्र शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिमको मौलिक सांस्कृतिक झलक बोकेको ‘छलिया’ नृत्य समेत प्रस्तुत गरिएको थियो । पार्टीका अन्य नेताहरूले पनि समाजवादको पक्षमा जनचेतना अभिवृद्धि गर्न स्थानीय स्तरमै अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पार्टीले नयाँ पुस्तालाई समाजवादप्रति आकर्षित गर्दै देशमा वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित अभियान अघि बढाइने जनाएको छ ।
