आदरणीय भविष्यका सन्तानहरू,
तिमीहरूले यो चिठी पढ्दा सम्भवतः ५० वर्ष बितिसकेको हुनेछ, जब हामीले नेपालमा गणतन्त्र स्थापना गरेका थियौँ । समय धेरै बदलिएको होला, प्रविधिको चमत्कारले जीवन सजिलो बनाइसकेको होला, सहरहरू फराकिला र सडकहरू चिल्ला भइसकेका होलान् । तर यिनै भौतिक परिवर्तनहरूभन्दा पर, एउटा कुराले मलाई आज पनि सोच्न बाध्य बनाउँछ - के हाम्रो सङ्घर्षको सार, हाम्रो सपना, तिमीहरूले जोगाइरहेका छौ ?
म तिमीहरूलाई चिठी लेखिरहेछु - केवल सन्देश दिन होइन, इतिहास सम्झाउन पनि। हामीले जुन गणतन्त्र पायौँ, त्यो केवल एक घोषणाले प्राप्त भएको थिएन । त्यो हजारौँ जनताको आँसु, रगत, र बलिदानको प्रतिफल थियो । २०६२/०६३ सालको जनआन्दोलन, त्यसअघिका थुप्रै आन्दोलनहरू, हरेकमा एउटै आवाज थियो - "शासन जनताको होस् !"
गणतन्त्र भन्नाले के बुझ्ने तिमीहरूले ?
यो केवल शासकको परिवर्तन होइन ।
गणतन्त्र भनेको चेतनाको जागरण हो -
जहाँ राज्य जनताको सेवक हुन्छ,
जहाँ हरेक नागरिक स्वतन्त्र हुन्छ,
र जहाँ सत्ता आम नागरिकको आँखामा उत्तरदायी हुन्छ ।
गणतन्त्रको मार्ग
नेपाल लामो समयसम्म एकात्मक, राजतान्त्रिक शासकीय व्यवस्थामा थियो । अधिकार केही गुट विशेषमा सीमित थियो । भाषा, जाति, वर्ग, लिङ्गका आधारमा विभेद व्यापक थियो । राज्य जनताको होइन, शासनकर्ताको केन्द्रमा केन्द्रित थियो । तर क्रमशः जनताको चेतनाको स्तर बढ्दै गयो । शिक्षाले आँखा खोले, सञ्चारले स्वर दिए र हामी उठ्यौँ - न्यायका लागि, समानताका लागि र गणतन्त्रका लागि ।
२०६२।०६३ सालमा देशभरका नेपालीहरूले सडकमा उत्रिएर भन्यो - अब देश राजा होइन, जनताले चलाउने छन् । र त्यसैको परिणतिमा जन्मियो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।
गणतन्त्रपछि के भयो ?
हामीले गणतन्त्रको घोषणा त गर्यौँ, संविधान लेख्यौँ, सङ्घीय संरचना बनायौँ । तर ती सबै केवल प्रारम्भिक पाइला थिए । वास्तविक गणतन्त्र त नागरिकको चेतना र व्यवहारमा बाँच्नुपर्थ्यो। तर यहाँबाट चुनौतीको सुरुवात भयो -
* राजनीतिक अस्थिरता,
* भ्रष्टाचार,
* अवसरको असमानता,
* युवा पलायन,
* शिक्षा र स्वास्थ्यमा गुणस्तरहीनता ।
हामीले गल्ती पनि गर्यौँ । केही नेता सत्ताको लोभमा रमाए, केही जनता चुप लागे । तर हामीले हार मानेनौँ। हामीले हरेक गल्तीलाई सुधार्ने प्रयास गर्यौँ । र त्यो सुधारको अपेक्षा हामी तिमीहरूबाट अझ प्रष्टसँग राख्न चाहन्छौँ ।
भविष्यका पुस्तासँग हाम्रो अपेक्षा
१. गणतन्त्रको मर्म बुझेको नागरिक बन्नू ।
केवल संविधान सम्झनु होइन, व्यवहारमा लागू गर्नु । हरेक निर्णयमा विवेक प्रयोग गर्नु । जब तिमी मत हाल्छौ, त्यो केवल चुनाव जिताउने काम होइन, त्यो त देशको दिशा निर्धारण गर्ने कार्य हो ।
२. समावेशी र सहिष्णु समाज बनाउनु ।
भाषा, जाति, धर्म, लिङ्ग - यी सबैमा समानता हुनु गणतन्त्रको आत्मा हो। तिमीहरू त्यो समाज बनाऊ जहाँ कोही पनि दोस्रो दर्जाको नागरिक नहोस् ।
३. सञ्चार र सूचना साक्षरताको सदुपयोग गर्नु ।
भ्रामक प्रचार र घृणाले होइन, विवेक र तथ्यको आधारमा विचार बनाउनु ।
४. देश प्रेमलाई व्यवहारमा उतार्नु ।
देश प्रेम नारामा होइन, कर्तव्यमा देखिन्छ । आफ्नो क्षेत्र, पेसा र योगदानबाट देशलाई समृद्ध बनाउनु नै गणतन्त्रप्रति सच्चा समर्पण हो ।
अन्त्यमा...
प्रिय पुस्ता,
हामीले तपाईँहरूको लागि गणतन्त्रको जग बसायौँ । हाम्रा सङ्घर्ष, आशा, गल्ती र सिकाइहरूलाई पाठ बनाएर तिमीहरूले त्यो जगमाथि सुन्दर, समावेशी र न्याययुक्त नेपालको निर्माण गर्नु ।
हामीले भविष्यको सपना देख्यौँ,
तिमीहरूले त्यो सपना साकार पार्नु ।
गणतन्त्र भनेको पुस्ता-दर-पुस्ता हस्तान्तरण हुने अमूल्य सम्पत्ति हो ।
यसलाई बचाउनु, विकास गर्नु र जीवन्त राख्नु, तिमीहरूको कर्तव्य हो ।
तिमीहरूको विश्वासमा आशावादी,
एक नागरिक
नेपाल, २०८२ साल
पङ्क्तिकार
संस्कृती भट्ट
भीमदत्त नगरपालिका-१८, कञ्चनपुर
सार्क एजुकेसन फाउण्डेशनमा कक्षा १० मा अध्ययनरत विद्यार्थी