हरिश्चन्द्र बाग, कञ्चनपुर । लालझाडी गाउँपालिकाले सामुदायिक विपद् व्यवस्थापन समिति तथा कार्यदल सदस्यहरुका लागि बाढी कृत्रिम घटना अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । लालझाडी गाउँपालिका अन्तर्गत कञ्जस्थित आपतकालीन सुरक्षित आश्रय स्थलमा आयोजित कार्यक्रममा समुदायस्तरमा विपद् पूर्वतयारी, उद्धार तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । कार्यक्रममा बाढीको समयमा अपनाउनुपर्ने सावधानी, सुरक्षित उद्धार प्रक्रिया, आपतकालीन समन्वय तथा आश्रयस्थल व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन समिति, कार्यदल सदस्य, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई कृत्रिम घटना अभ्यासमार्फत विपद्को अवस्थामा कसरी छिटो र प्रभावकारी रूपमा प्रतिकार्य गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी दिइएको थियो । कार्यक्रम समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम (CRP) तथा MRED परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो । साथै Climate Resilience Alliance, PESWAN, Practical Action र Mercy Corps को समन्वय तथा सहकार्य रहेको जनाइएको छ ।
कार्यक्रमको समापन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले लालझाडी क्षेत्र बाढीजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदायस्तरमै पूर्वतयारी र उद्धार क्षमताको विकास आवश्यक रहेको बताए । उनले यस्ता कृत्रिम घटना अभ्यास तथा अभिमुखीकरण कार्यक्रमले विपद्को समयमा कसरी सुरक्षित र प्रभावकारी रूपमा प्रतिकार्य गर्ने भन्ने ज्ञान तथा सीप प्रदान गर्ने बताए ।
साथै स्थानीय समुदाय, सुरक्षाकर्मी तथा सरोकारवाला निकायबीच समन्वय मजबुत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत सार्कीले गाउँपालिकाले आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण, सुरक्षित आश्रय व्यवस्थापन तथा समुदायको क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।