हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असार । कञ्चनपुरको लालझाडी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकमा स्थानीय विपद् व्यवस्थापनदेखि सामाजिक विकास, पूर्वाधार निर्माण, वित्तीय व्यवस्थापन र सुशासनसमेत समेटिएका विषयहरू छलफल भएका छन् ।
विपद् व्यवस्थापनमा स्थानीय कोषलाई निरन्तरता दिइने, जंगली जनावर र छाडा पशुबाट बाली नाली क्षति कम गर्न मेसवायर जडान गरिने, जोखिम क्षेत्र पहिचान गरी सुरक्षित स्थल तोकिने र दमकल सेवा सञ्चालनमा ल्याइने योजना छ । साथै, विपद् स्वयमसेवकहरूको क्षमता विकास गरी तालिम प्रदान गरिने व्यवस्था गरिएको छ ।
संस्थागत विकास र सेवा प्रवाहमा नागरिकमैत्री सेवाका लागि हेल्प डेस्क, गुनासो पेटिका, सार्वजनिक सुनुवाई जस्ता उपाय प्रभावकारी लागु गरिने छन् । रोजगार सेवा केन्द्र मार्फत श्रमिक परिचालन र बेरोजगारलाई जीवनोपयोगी सीप सिकाइने कार्यक्रम अघि बढाइने छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन हुनेछ भने अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने योजना छ ।
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, भवन निर्माण र स्तरोन्नतीमा जोड दिइने छ । सडक विस्तार, चक्रपथ निर्माण, प्रशासनिक भवन तथा विद्युतीय र सौर्य उर्जामा आधारित आधुनिक सिँचाई प्रविधि विस्तार गरिने छ । तटबन्ध निर्माण र मर्मत सम्भारलाई प्राथमिकता दिइने साथै वृक्षारोपणमा विशेष ध्यान दिइने छ ।
सामाजिक विकासमा निःशुल्क गुणस्तरिय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने, स्वास्थ्य पूर्वाधार र औषधि उपलब्धता सुनिश्चित गरिने, सुत्केरी सेवा, खोप तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने प्रावधान गरिएको छ ।
वित्तीय व्यवस्थापन र सुशासनमा आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाइने, सार्वजनिक खर्च पारदर्शी र मितव्ययी बनाइनेछ । कर संकलन प्रणाली चुस्त दुरुस्त बनाई करदाता मैत्री नीति अवलम्बन गरिने छ । सेवा प्रवाहमा सार्वजनिक सुनुवाई, गुनासो व्यवस्थापन र नागरिक सन्तुष्टि सर्वेक्षण गरिने योजना छ । साथै, स्मार्ट गाउँपालिका तथा स्मार्ट जनप्रतिनिधि र कर्मचारी कार्यक्रम पनि अघि बढाइने छ ।
सूचना तथा सञ्चार प्रविधिमा डिजिटल ई-गभर्नेन्सलाई प्राथमिकता दिइने, सरकारी वेबसाइट र सामाजिक संजालमार्फत सूचनाहरु प्रवाह गरिने, सार्वजनिक स्थानमा सिसिटिभी जडान र ई-हाजिरी प्रणाली लागु गरिने योजना बनाइएको छ ।
सुरक्षा व्यवस्थापनमा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायसँग सहकार्य गरिने र वडा नं. ६ को चान्देव बजार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिने व्यवस्था गरिएको छ ।
बैठकमा सभाध्यक्ष निर्मल रानाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । यही असार ९ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी अधिवेशन स्थगित गरिएको छ ।
लालझाडी गाउँपालिका गाउँ सभाको सचिवालयमार्फत गाउँ सभा सञ्चालन ऐन बमोजिम नयाँ अभ्यासका साथ सभा सञ्चालन गरिएको सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो ।