हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ असार । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार आयोजित अधिवेशनको तेस्रो बैठकले चालू तथा पूँजीगत खर्चसहितको बजेट पारित गर्दै आगामी वर्षका प्राथमिकता र योजनाहरू तय गरेको हो । यसअघि यही असार ०६ गते आयोजित पहिलो बैठकमा सभाध्यक्ष निर्मल रानाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई सोही बैठकले सर्वसम्मत पारित गरेको थियोे ।
कूल बजेट ४३ करोड ६५ लाख ।।
गाउँ सभामा उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको विवरण अनुसार गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कूल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये २३ करोड ९९ लाख २६ हजार रुपैयाँ चालू खर्च र १९ करोड ६५ लाख ९६ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । “हामीले बजेट निर्माण गर्दा गाउँको आवश्यकता, सम्भावना र नागरिकको चाहनालाई ध्यानमा राखेका छौँ,” उपाध्यक्ष सपनाले भन्नुभयो, “विकासका आधारभूत संरचना, सामाजिक सेवा र उत्पादनमूलक क्षेत्रमा सन्तुलित लगानी हुनेछ ।” चालू खर्चमा प्रशासनिक सञ्चालन, तलबभत्ता, सेवा प्रवाह, कार्यक्रम व्यवस्थापनजस्ता नियमित काम समेटिएको छ भने पूँजीगत बजेटबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, ऊर्जा र महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
वडागत बजेट वितरण ।।
लालझाडी गाउँपालिकामा रहेका ६ वटै वडाका लागि निम्नानुसार बजेट विनियोजन गरिएको छ :
वडा नं. १ - ५० लाख २२ हजार
वडा नं. २ - ३४ लाख ७१ हजार
वडा नं. ३ - ३६ लाख २१ हजार
वडा नं. ४ - ५० लाख ३१ हजार
वडा नं. ५ - ३४ लाख ३४ हजार
वडा नं. ६ - ३२ लाख ७३ हजार
वडागत रूपमा कूल २ करोड ३८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको हो । “वडास्तरमै प्राथमिकता आधारित योजना छनोट गरेर समन्वयपूर्वक कार्यान्वयन गरिने वडाध्यक्षहरूको भनाइ छ । जनताले सिधा अनुभूति गर्ने कार्यक्रमहरू अगाडि बढाइने उहाँहरूको भनाइ छ ।
सुझाव र सरोकार ।।
गाउँसभा छलफलका क्रममा जनप्रतिनिधिहरूले कृषिमा यान्त्रीकरण, विपद् व्यवस्थापन, सडक मर्मत सम्भार, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य पहुँच विस्तार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जोड दिनु भएको छ । “महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र सीमान्तकृत समुदायलाई लक्षित गर्दै कार्यक्रमहरूलाई व्यावहारिक बनाउनु जरूरी रहेको सहभागीहरूको भनाइ छ ।
सभाध्यक्ष रानाको प्रतिवद्धता ।।
गाउँपालिका अध्यक्ष निर्मल रानाले अधिवेशनमार्फत पारित नीति तथा कार्यक्रम र बजेट विकासको दिशामा महत्वपूर्ण पाइला हुने विश्वास व्यक्त गर्नुभयो । “हामी विकासमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई मूल मान्यताका रूपमा अघि बढाउँछौँ,” अध्यक्ष रानाले भन्नुभयो, “चालु वर्षका अधुरा योजनाहरू पूरा गर्ने, जनआवश्यकताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने र समावेशी विकासलाई सुनिश्चित गरिने छ ।”
मन्त्रीको भनाइ : कृषि र स्थानीय समृद्धि ।।
गाउँसभा अधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नु भएका सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री वीरबहादुर थापाले प्रदेश सरकार गाउँपालिकाको समृद्धिका लक्ष्यमा साझेदार बन्न तयार रहेको बताउनुभयो । “स्थानीय सरकार नै विकासको पहिलो आधार हो,” मन्त्री थापाले भन्नुभयो, “कृषिमा आत्मनिर्भरता, ग्रामीण रोजगारी र बजेटको पारदर्शी कार्यान्वयनमार्फत जनताको भरोसा जित्नुपर्ने बेला आएको छ । प्रदेश सरकार आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध छ ।” उहाँले कृषिमा यान्त्रीकरण, सीप विकास, सहकारी सशक्तीकरण र बजार पहुँच विस्तारमा केन्द्रित योजनाहरू ल्याउन पनि गाउँपालिकालाई सुझाव दिनुभयो ।
सहभागिता र सम्मान ।।
अधिवेशनमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो । “सबै पक्षको साथ र सहकार्यले १८औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ,” सार्कीले भन्नुभयो, “सुझाव र मार्गनिर्देशनले आगामी कार्यान्वयन थप सहज र प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” अधिवेशनकै अवसरमा पालिका भित्रको स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मानसमेत गरिएको गाउँपालिकाले जनाएको छ । जसमा उत्कृष्ट ३ वटा स्वास्थ्य केन्द्रलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । पहिलो देखतभुली स्वास्थ्य केन्द्रलाई नगद रु. ७ हजार पुरस्कार , दोस्रो सिकलपट्टी जाई स्वास्थ्य केन्द्रलाई नगद रु. ६ हजार पुरस्कार र तेस्रो चानदेव स्वास्थ्य केन्द्रलाई नगद रु. ५ हजार पुरस्कार सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।
