नवराज अवस्थी, बेलौरी (कञ्चनपुर), १० साउन । "श्रम तथा उत्पादनमा वाईसिपीएल" भन्ने मूल नाराका साथ युवा कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, बेलौरी नगर कमिटीले बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित श्री सीताराम साकेतधाम मन्दिर परिसर र रामनगर चोकदेखि दक्षिण झण्डै पाँच किलोमिटर क्षेत्रमा फैलिएको विशेष श्रम तथा सरसफाइ अभियान सशक्त रूपमा सम्पन्न गरेको छ । अभियानमा रामनगर र सितानगर गाउँका स्थानीय युवाहरू, वाइसीएलका सदस्यहरू, समाजसेवी तथा राजनीतिक नेताहरूको उल्लेखनीय सहभागिता देखिएको थियोे । धार्मिक स्थलहरूको सरसफाइ, सडकछेउका झाडी हटाउने, प्लास्टिक फोहर संकलन गर्ने र सार्वजनिक क्षेत्रको सौन्दर्यीकरण जस्ता कार्यमार्फत अभियानले नगरको स्वच्छता र नागरिक चेतना अभिवृद्धिमा योगदान पुर्याएको छ ।

कार्यक्रमको समन्वयमा माओवादी केन्द्र बेलौरी नगर कमिटीका सहसचिव तथा वाइसीएल कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) इन्चार्ज राजु बहादुर कुँवरको नेतृत्वकारी भूमिका रहेको थियो । टोली परिचालन, व्यवस्थापन र सम्पर्क समन्वयमा उहाँ विशेष सक्रिय देखिनुभयो । राजु बहादुर कुँवरले भन्नुभयो:, "युवाशक्तिलाई संगठन र सेवामा सक्रिय बनाएर समाज रूपान्तरण सम्भव छ । यो अभियान हाम्रो सामूहिक सोच, श्रमको सम्मान र स्वच्छ नगर निर्माणप्रतिको प्रतिबद्धता हो ।"

यस्तै, माओवादी केन्द्र बेलौरी नगर अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष लाल बहादुर चौधरी, नगर कमिटी सचिव सुन्दर चौधरी र समाजसेवी जय बहादुर कुँवरको पनि अभियानमा सहभागिता रह्यो । लाल बहादुर चौधरीले भन्नुभयो, "युवा परिचालन, श्रम र समाजसेवा आजको खाँचो हो । म यस अभियानमा सहभागी हुन पाउँदा गौरव महसुस गरिरहेको छु ।" सचिव सुन्दर चौधरीले भन्नुभयो, "श्रमको माध्यमबाट अनुशासन, संगठित सोच र सामाजिक समर्पण विकास हुन्छ । वाइसीएल यिनै मूल्यका आधारमा अघि बढिरहेको छ ।"

अभियानमा बेलौरी नगर भलमन्सा समन्वय समिति अध्यक्ष अमर चौधरीको अग्रसरता थियो । उहाँले रामनगर गाउँका युवाहरूलाई सक्रिय रूपमा परिचालन गर्दै श्रमकार्य सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुभयो । अमर चौधरीले भन्नुभयो, "नगर निर्माणमा भलमन्साहरूको योगदान देखाउन पाउँदा खुसी लागेको छ । समाजसेवामा समर्पित युवाहरू हाम्रो शान हुन् । यस्ता अभियान निरन्तर चलिरहोस् भन्ने कामना गर्दछु ।"
कार्यक्रमको समग्र समन्वय वाइसीएल बेलौरी नगर अध्यक्ष राजेश भट्टले गर्नुभएको थियो । संगठनात्मक पक्ष सुदृढ बनाउन पनि उहाँको सक्रियता देखिएको थियो । राजेश भट्टले भन्नुभयो, "वाइसीएल श्रम, संगठन र सेवाको संयोजन हो । युवाशक्तिलाई देश, समाज र वातावरणप्रतिको जिम्मेवारीमा जोड्नु हाम्रो निरन्तर प्रयास हो । आजको अभियान त्यही बाटोको एउटा प्रेरणादायी पाइला हो ।"

धुलो, घाम र गर्मीका बाबजुद सहभागी युवाहरूले जोशिलो ढङ्गमा श्रम कार्य सम्पन्न गरेका छन् । स्थानीयवासीहरूले वाइसीएल तथा सहभागी युवाहरूको कार्यको खुलेर प्रशंसा गर्दै यस्तो अभियानले नगरको गौरव बढाएको र समाजमा श्रम संस्कृतिको विकासमा टेवा पुर्याएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको समापनमा आयोजकहरूले नगरका अन्य स्थानहरूमा पनि यस्ता श्रम तथा सरसफाइ अभियान निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।