कञ्चनपुर, ११ साउन । “यो २१औँ शताब्दी हो, विज्ञान र चेतनाको युग हो । तर छाउपडीले अझै पनि महिलाको ज्यान लिइरहेको छ । के हामीले आँखा खोल्ने बेला भएको छैन ?”
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री गिता देवी मालले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडीका कारण ज्यान गुमाएकी कमला आउजी दमाईको घटनालाई गम्भीरतापूर्वक उठाउँदै समाज र सरकार दुवैलाई सचेत हुन आह्वान गरेकी छन् ।
आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद मालले भनिन्, “कमलाको मृत्यु सर्पको टोकाइले मात्रै होइन, समाजमा गाडिएको अन्धविश्वास र कुरीतिका कारण भयो ।”
उनले छाउपडी प्रथा जस्ता कुप्रथाले ग्रामीण महिलाहरूको जीवन अझै पनि संकटमा पारिरहेको बताइन् । मालले भनिन् “कानुन त बनेका छन्, तर कार्यान्वयनको नाममा हामी चुकिरहेका छौँ । तीन तहको सरकार छ, तर समाजमा गहिरो गरी जरा गाडेका यस्ता कुरीति हटाउन अझै सकिएको छैन ।” उनले सरकारलाई कागजमा मात्रै कानुन बनाउने होइन, व्यवहारमै लागू गरेर समाज रूपान्तरण गर्ने दिशामा अघि बढ्न आग्रह गरिन् ।
पूर्वराज्यमन्त्री समेत रहेकी मालले छाउपडी उन्मूलनका लागि कानुनी कठोरता मात्र होइन, शिक्षा, चेतना र निरन्तर अभियानको खाँचो पनि औँल्याइन् । कमला आउजी दमाई प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनिन्, “यस्ता घटना दोहोरिन दिनु अबको लज्जास्पद विफलता हुनेछ । अब समाज र सरकार दुवै सजग र जिम्मेवार बन्नुपर्ने समय आएको छ ।”
सांसद मालको आवाज समाजमा गडेर बसेका कुरीति र अन्धविश्वासको विरुद्धको चेतनाको घण्टी हो । अब यो आवाज छाउपडी गोठ नभत्किएसम्म, व्यवहार परिवर्तन नभएसम्म, कानुन कार्यान्वयन नहुँदासम्म र छाउपडीको अन्त्य नहुँदासम्म गुञ्जिरहुनुपर्छ ।