महरिश्चन्द्र बाग, कञ्चनपुर, १५ साउन । भारतसँग खुला सीमा जोडिएका कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रहरूमा लागु औषध ओसारपसार, तस्करी, चोरी र अन्य आपराधिक गतिविधि तीव्र बन्दै गएपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको छ । खुला सीमाबाट भइरहेका गतिविधिलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न राज्य संयन्त्र थप जिम्मेवार र सक्रिय बन्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा बुधबार बेलौरीमा सम्पन्न ‘सीमा क्षेत्रका जनप्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा वडाध्यक्ष तथा वडा सदस्यहरूले लागु औषध, चोरी, घरेलु तथा लैङ्गिक हिंसा र तस्करीजस्ता अपराध नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वयात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो ।
बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीले प्रहरी चौकीहरूमा दरबन्दीअनुसार जनशक्ति खटाउनुपर्ने र बेलौरी ३ मा नयाँ प्रहरी चौकी स्थापना आवश्यक रहेको बताउनुभयो । बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीले आफ्नो वडामा लागु औषधको समस्या बढ्दो क्रममा रहेको बताउँदै भन्सार क्षेत्रमा निगरानी थप कडा बनाउन अनुरोध गर्नुभयो । बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बालबालिकामाझ लागु औषधको लत फैलँदै गएको भन्दै सीमा क्षेत्रमा निगरानी कडाइ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बेलौरी नगरपालिका वडा नम्बर ८ की वडा सदस्य लक्ष्मी चन्दले महिलामाझ पनि लागु औषधको असर देखिन थालेको बताउँदै घरेलु हिंसा र सामाजिक विघटनको जोखिम बढेको उल्लेख गर्नुभयो ।
बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गजबहादुर बिष्टले विद्यालय पार्क, खोलानाला र जङ्गल हुँदै हुने लागु औषध ओसारपसार रोक्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले खुला सीमा, जङ्गल तथा उखुबारीको बाटोबाट यस्ता गतिविधि हुँदा त्यस्ता गतिविधि रोकथाममा अप्ठ्यारो अवस्था देखिएको उल्लेख गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरीले सीमावर्ती क्षेत्रमा रातको समयमा हुने अवैध आवतजावत नियन्त्रण गर्न नियमित गस्ती सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लागु औषध सम्बन्धी घटनामा साँची बस्दा पनि गाउँमा त्रासको वातावरण बनेको सुनाउनु भयो । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले चोरी र तस्करी नियन्त्रणका लागि सुरक्षालाई थप मजबुत पार्नुपर्ने धारणा राख्नुभयो ।
पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाले सजायको डरभन्दा पहिला चेतना आवश्यक रहेको बताउँदै विद्यालय र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैसीले खुला सीमाका बहु प्रवेश मार्गहरूका कारण समस्या बढेको बताउँदै निश्चित नाका निर्धारण गरी आवतजावत सुनिश्चित गर्न सुझाव दिनुभयो । पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदमराज उपाध्यायले किशोर किशोरीहरू लागु औषधको प्रभावमा पर्न थालेको गम्भीर अवस्था उल्लेख गर्दै विद्यालयमै सुधारात्मक कार्यक्रमको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सहभागी शिक्षक तथा सामाजिक अभियन्ता धर्मेन्द्र गिरीले कञ्चनपुरको दक्षिणी भूभाग लागु औषध ओसारपसारको मुख्य केन्द्र बन्दै गएको भन्दै अभिभावकहरूले आफ्ना सन्तानलाई अनुशासन र जिम्मेवारी सिकाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यसको रोकथामका लागि सबै पक्षको सक्रिय सहभागितामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिकी उपप्रमुख रामकुमारी रानाले समुदायमै पुगेर लागु औषधविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउँदै सबै पक्ष आ-आफ्नो जिम्मेवारीमा सक्रिय हुनुपर्ने बताउनुभयो । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले प्रहरी प्रशासनले चासो देखाएकोमा धन्यवाद दिँदै यस कार्यलाई नियमित अभियानका रूपमा निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले लागु औषधविरुद्ध बेलौरीमा सुरु गरिएको महाअभियानलाई निरन्तरता दिन सके मात्र समस्याको समाधानतर्फ पुग्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) डम्बरबहादुर विकले लागु औषध नियन्त्रणलाई नेपाल प्रहरीले आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो, “समस्या गम्भीर छ, तर समाधानको उपाय सामूहिक सहभागिता हो ।” उहाँले प्रहरी मात्र होइन, अभिभावक, शिक्षक, स्थानीय सरकार र समुदाय सबैको साझा प्रयासबाट मात्र लागु औषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो । साथै, प्रहरी र जनताको सम्बन्ध अझ सुमधुर बनाउँदै सचेतनामूलक कार्यक्रमहरूलाई थप विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले कार्यक्रममा उठाइएका सरोकारका विषयहरू सम्बन्धित निकायमा पु¥याइने जानकारी समेत गराउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बालबालिकासमेत लागु औषधको लतमा फस्न थालेको चिन्ताजनक अवस्था रहेको उल्लेख गर्दै बैङ्किङ कसुर, घरेलु हिंसा र लैङ्गिक हिंसाका घटनामा अनुसन्धान जारी रहेको जानकारी गराउनुभयो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक श्री भाष्कर चन्दले गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरको बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रका विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, शिक्षक, अभिभावक, प्रहरी अधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।