प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भाद्र २३ गते सोमवार देखि विधिवत् आरम्भ भएको छ । चन्द्रमान-अनुसार आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ ।
आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको हो भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् ।
केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक चलन छ ।
पितृहरु दिवंगत भएको वार्षिक तिथिमा, औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक चलन छ । पितृप्रति श्रद्धा प्रकट गर्नका लागि हिन्दु संस्कारमा सोह्र श्राद्धको निकै महत्व छ । सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन माछामासु वा कुनै मादक पदार्थको सेवन गर्न नहुने र मांगलिक तथा शुभ काम गर्न पनि बर्जित छ । हुन त दिवंगत पितृलाई सम्झनका लागि कुनै विशेष दिन नै कुर्नुपर्छ भन्नै छैन । यद्यपि हाम्रो हिन्दू संस्कारले केही तिथि भने पितृप्रति श्रद्धा कायम राख्नका लागि उनीहरुका नाममा दान, धर्म र कर्म गर्ने विशेष अवसर जुटाइदिएको छ ।
सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ मोक्ष अमावस्याका दिन अर्थात् आश्विन कृष्ण पक्षको औंसी तिथिमा श्राद्ध गर्छन् । पञ्चमी तिथिमा अविवाहित स्थितिमा मृत्यु भएकाहरुको श्राद्ध गरिन्छ । नवमी तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।
एकादशी एवं द्वादशी तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले सन्यास लिएका छन् । चतुर्दशी श्राद्ध अकाल मृत्यु भएकाहरुका लागि गरिन्छ । प्रतिपदा तिथि मावलीका बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ । विशेषगरी बुवा वा हजुरबुवाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्य आफ्नो कूलका तीन पुस्ता अर्थात् बुवा, हजुरबुवा र बुढो हजुरबुवा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबुवा, बुढो हजुरबुवा र कुप्रो हजुरबुवालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ ।
तर्पण भने आफू शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ । पितृपक्षमा प्रतिपदादेखि औंसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो, तर यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय मान्यता पाइन्छ । पितृपक्ष सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्ति प्रदान गर्दछन् । त्यसैले पनि पितृहरू आफू दिवंगत भएको तिथिका दिन आफ्ना सन्ततीहरूबाट आफ्नो उद्धारको आकंक्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवंगत भएका मृत पितृहरूको श्राद्धादि कर्म गर्ने गर्दछन् ।
पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्नु पर्दछ । तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो । अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।कुनै पनि श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो, कुश र तिल महत्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । तर अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।
श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू ग्राहृय मानिन्छन् । केत्तकी, करवीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन । जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ त्यस्तो व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवंगत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।