धर्मराज कठायत, कञ्चनपुर, १२ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकाृसँगको समन्वय, कोइकाको आर्थिक सहयोग तथा अक्सफामको प्राविधिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘एम्पावरिङ हर (महिला सशक्तिकरण)’ कार्यक्रम अन्तर्गत गठन भएका विभिन्न महिला सशक्तिकरण केन्द्रहरूको संयुक्त अनुगमन गरिएको छ । महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत केन्द्रहरूले गरिरहेका गतिविधि, जलवायु मैत्री कृषि अभ्यास, तथा प्रदान गरिएका सामग्रीहरूको उचित प्रयोग भए-नभएको विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १५, १८ र १९ मा रहेका महिला सशक्तिकरण केन्द्रहरू, कक्षा सञ्चालन, नेतृत्व विकास कार्यक्रम, तरकारी खेतीका डेमो साइट, जलवायु मैत्री कृषि अन्तर्गत तरकारी तथा गडौला खेतीको अवस्थाबारे अवलोकन गरिएको थियो । अनुगमनका क्रममा पहिचान भएका समस्याहरूका आधारमा आगामी योजना निर्माण गर्ने तथा ती समस्याहरूको समाधानतर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गराउने उद्देश्य रहेको कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका वडा नम्बर १५ मा गठित सत्या आदर्श महिला सशक्तिकरण केन्द्रकी संयोजक राधा ऐडीले केन्द्र गठनअघि आफ्नो परिचय दिनसमेत डर लाग्ने गरेको स्मरण गर्नुभयो । “दुई-चार जनाको अगाडि बोल्न पनि लाज लाग्थ्यो । अहिले भने निर्धक्क रूपमा आफ्नो परिचय दिन, आफ्ना माग राख्न र अधिकारका लागि वडासम्म पुग्न हामी हिच्किचाउँदैनौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार निड्स नेपालले जीविकोपार्जनका लागि बिउ-बिजन र टनेल उपलब्ध गराएपछि परिवारको आर्थिक अवस्थामा सुधार आएको छ ।

त्यसैगरी, वडा नम्बर १९ बागफाटास्थित दशरथ महिला सशक्तिकरण केन्द्रकी रमा चौधरीले समूह गठनपछि नेतृत्व विकास, बचत, बीमा तथा तरकारी खेतीमा ठूलो सहयोग पुगेको बताउनुभयो । “समूहले हामीलाई धेरै कुरा सिकाएको छ र जीवन सहज बनाएको छ,” उहाँले भन्नुभयो ।

अनुगमनका क्रममा वडा नम्बर १९ का वडाध्यक्ष जग्गुराम चौधरीले थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा महिलाहरू पहिले घरायसी काममै सीमित रहेको उल्लेख गर्नुभयो । “पहिले आफ्नो परिचय दिन नसक्ने महिला दिदीबहिनीहरू अहिले निर्धक्क रूपमा वडासम्म पुगेर आफ्ना माग र अधिकारका लागि आवाज उठाइरहेका छन्,” उहाँले भन्नुभयो । महिलाहरूले बचत, बीमा तथा तरकारी खेतीमार्फत राम्रो आम्दानी गर्न थालेको देख्दा आफू अत्यन्त खुसी भएको उहाँले बताउनुभयो ।

भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले नगरपालिका गर्नुपर्ने कार्य निड्स नेपालले प्रभावकारी रूपमा अघि बढाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महिलाहरूको नेतृत्व विकासदेखि आर्थिक सशक्तिकरणसम्मका गतिविधिले सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो । “महिलाहरूको लगनशीलता र सक्रियताले वडा मात्र नभई देशकै विकासमा योगदान पुर्याउने विश्वास छ,” उहाँले भन्नुभयो । उहाँले आगामी दिनमा नगरपालिका र संस्थाबीच सहकार्य गर्दै उत्पादित तरकारीको बजारीकरणका लागि अर्गानिक तरकारी बजार सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अनुगमन कार्यक्रममा उपप्रमुख नीलम लेखक जोशी, वडा नम्बर १९ का वडाध्यक्ष जग्गुराम चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखक, कृषि शाखा प्रमुख आकाश चन्द तथा विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टको उपस्थिति रहेको थियो । संस्थाको तर्फबाट निड्स नेपालका उपाध्यक्ष तारा देवी थापा धामी, सहसचिव दुर्गा सिंह, कोषाध्यक्ष विनिता लोहार, सदस्य सरस्वती दाहाल, अनुगमन प्रमुख बिमला शाह, कार्यक्रम संयोजक नवीन चन्द्र भट्ट, कृषि प्राविधिक कौशल भण्डारी र हेमन्त महरा लगायत महिला सशक्तिकरण केन्द्रका सदस्यहरूको सहभागिता रहेको थियो ।
