कञ्चनपुर, १८ बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लालझाडी गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा विभिन्न सरोकारवाला निकायमा संलग्न श्रमिकहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । गाउँपालिकाका अध्यक्ष निर्मला रानाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, विभिन्न वडाका वडा अध्यक्षहरू लगायत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात प्रभातफेरीबाट गरिएको थियो । त्यसपछि गाउँपालिकाको सभा हलमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले आफ्नो परिचय दिँदै कार्यस्थलमा भोगेका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा राखेका थिए । रोजगार सेवा केन्द्रका प्रमुख केशव दत्त पन्तले श्रमिक हकहित, सम्बन्धित कानुन, नीति तथा नियम, विश्व परिवेश, नेपालको वर्तमान अवस्था तथा गाउँपालिकाबाट श्रमिक क्षेत्रमा प्रवाह भइरहेका सेवासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा श्रम सुरक्षा, श्रमिकको हक अधिकार, कार्यस्थलमा हुने विभेद, बालश्रम तथा लाञ्छनाजस्ता विषयमा गहन छलफल भएको थियो । वडा नम्बर २ का अध्यक्ष आशाराम रानाले कार्यस्थलमा हुने दुर्घटना तथा बालश्रमका विषयमा मन्तव्य व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले नेपालको संविधानले सुनिश्चित गरेका श्रमिक हक अधिकारबारे प्रकाश पार्दै यस क्षेत्रमा सुधारका लागि आगामी दिनमा गाउँपालिकाले थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष निर्मल रानाले श्रमिकको हक अधिकार, श्रम, रोजगारी, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिने बताए । उनले श्रमिकहरूको सम्मान एक दिनमा सीमित नरही निरन्तर कायम रहने विश्वास व्यक्त गर्दै मजदुर, किसान तथा श्रमिकहरूको हकहित संरक्षण र सेवा सुविधा सुनिश्चित गर्न गाउँपालिका सधैँ प्रतिबद्ध रहने धारणा राखे ।

श्रमिकहरूको सम्मान, अधिकार सुनिश्चितता र श्रममैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिए ।
