हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । कञ्चनपुरको बेलौरीमा रहेको ईशान मेमोरियल अस्पताल बेलौरीले “स्वस्थ नागरिक, समृद्ध समाज” भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार बेलौरी नगरपालिका ५ स्थित शोभातालमा आयोजना गरेको शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता अस्पतालकी प्रबन्ध निर्देशक पूजा भट्टले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले ग्रामीण तथा विपन्न समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले अस्पतालले सेवामुखी भावनाका साथ काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनस्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर चौधरीले गाउँ स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु सकारात्मक कार्य भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका धेरै नागरिक आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता शिविरले जनतालाई ठूलो राहत पुगेको बताउनुभयो । स्थानीय तह र स्वास्थ्य संस्थाबीच सहकार्य भए नागरिकको स्वास्थ्य अवस्था थप सुदृढ हुने उहाँको भनाइ थियो ।
विशिष्ट अतिथि अस्पतालका डा. जाफिर आलमले समयमै स्वास्थ्य परीक्षण गराउन सके धेरै जटिल रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले उच्च रक्तचाप, मधुमेह, मुटु तथा अन्य दीर्घ रोगको जोखिम बढ्दै गएको अवस्थामा नियमित स्वास्थ्य परीक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी चेतना विस्तार गर्न यस्ता शिविर प्रभावकारी माध्यम बन्ने उहाँको भनाइ थियो ।

अस्पतालका एच.आर. मदन भण्डारीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर पूर्ण रूपमा निःशुल्क रहेको थियो । शिविरमा निःशुल्क स्वास्थ्य परामर्श, ल्याब परीक्षण तथा औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा १३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने करिब ३ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।
अस्पतालका संस्थापक आई जङ्ग कुँवरले यस्ता स्वास्थ्य शिविरहरूले गाउँ बस्तीमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र गरिब तथा विपन्न समुदायका नागरिकको सहारा बन्ने बताउनुभयो । विगतदेखि नै विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सेवा विस्तार गर्दै अझ बढी नागरिकसम्म स्वास्थ्य पहुँच पुर्याइने बताउनुभयो ।
शिविरमा स्थानीय नागरिकले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र औषधि सेवा पाएपछि खुसी व्यक्त गर्नु भएको छ । स्वास्थ्य संस्थाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै गाउँ बस्तीमै पुगेर सेवा दिन थालेपछि सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आउनु भएको छ ।