हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन गरिएको छ । आज शुक्रबार आयोजित कार्यक्रममा नयाँ भवनको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष पहल बहादुर थापाले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडा कार्यालयलाई जनमैत्री सेवा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधार आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ भवनले वडा कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, खानेपानी तथा विद्युत सहकारीका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, शिक्षक, बुद्धिजीवि, समाजसेवी, पत्रकार तथा स्थानीय वडावासीहरूको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा सहभागीहरूले नयाँ भवन निर्माणसँगै वडा स्तरका सेवा सहज र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा उपस्थित अतिथिहरूले वडा कार्यालयको समग्र विकास र सेवाप्रवाहमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।