हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत ६० जना दलित विद्यार्थीलाई कुल ३ लाख २२ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको जनाएको छ । शिक्षा क्षेत्रमा दलित समुदायको पहुँच विस्तार गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा आउने बाधा कम गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रवक्ता हर्कबहादुर भुलका अनुसार नगर स्तरीय दलित छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्राविधिक धारतर्फ अध्ययनरत दुई जना विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ, उच्च शिक्षामा अध्ययनरत १० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले एक लाख रुपैयाँ तथा कक्षा ११ र १२ मा अध्ययनरत ४८ जना विद्यार्थीलाई जनही चार हजार रुपैयाँका दरले एक लाख ९२ हजार रुपैयाँ प्रदान गरिएको हो ।
यस क्रममा महाकाली माध्यमिक विद्यालयलाई एक लाख २० हजार रुपैयाँ, लक्ष्मी माध्यमिक विद्यालय जवदियालाई ७८ हजार रुपैयाँ, महाकाली बहुमुखी क्याम्पसलाई ७० हजार रुपैयाँ तथा शान्ति माध्यमिक विद्यालयलाई ४८ हजार र त्रिभुवन माध्यमिक विद्यालय रतनपुरलाई ४८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो । पालिकाबाहिर उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पोतीलाल चौधरीले आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएको दलित समुदायका विद्यार्थीलाई शिक्षामा टिकाइ राख्न र उच्च शिक्षातर्फ प्रोत्साहित गर्न नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको बताए । उनले दलित समुदायका बालबालिकाले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सानै भए पनि सहयोगको प्रयास गरिएको उल्लेख गरे । छात्रवृत्तिले विद्यार्थीलाई शैक्षिक सामग्री व्यवस्थापनदेखि अध्ययन निरन्तरतामा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
नगर उपप्रमुख जोगराम चौधरीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको शुभकामना व्यक्त गर्दै छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीलाई थप हौसला मिल्ने बताए । उनले शिक्षा नै विभेद, गरिबी र पछौटेपन अन्त्य गर्ने प्रभावकारी माध्यम भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमका सभापति तथा नगर प्रवक्ता हर्कबहादुर भुलले जेहेन्दार, विपन्न तथा उत्कृष्ट नतिजा हासिल गरेका दलित विद्यार्थीलाई स्टेशनरी सामग्री र छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनले यस्ता कार्यक्रमले अन्य विद्यार्थीलाई पनि अध्ययनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्दै दलित समुदायले राज्यका विभिन्न परिवर्तनका आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गरे । अब समुदायलाई शैक्षिक रूपान्तरणतर्फ अग्रसर गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले नगरपालिकाले समावेशी विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गरिएका लगानीले दीर्घकालीन सकारात्मक परिणाम दिने बताए । कार्यक्रममा सहभागी दलित अगुवाहरूले छात्रवृत्ति कार्यक्रमले दलित समुदायका विद्यार्थीलाई शिक्षातर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनीहरूले शिक्षा नै विभेद, गरिबी र सामाजिक पछौटेपनबाट मुक्त हुने सबैभन्दा प्रभावकारी माध्यम भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । छात्रवृत्तिले आर्थिक अभावका कारण पढाइ छोड्ने जोखिम कम गर्नुका साथै विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
विगत केही वर्षयता सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले दलित समुदायका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको लाभग्राहीहरूको भनाइ छ । दलित समुदायको शैक्षिक सुधारका लागि बेलौरी नगरपालिकाले गरेको प्रयास प्रभावकारी रहेको उल्लेख गर्दै अन्य स्थानीय तहले पनि आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीका लागि यस्तै प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले गरेका थिए । नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुतमुक्त समाज निर्माणका लागि शिक्षा, सचेतना र अवसरको समान पहुँच आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।