हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको गाउँ सभा तथा २० औँ अधिवेशनअन्तर्गत शुक्रबार बिहान बसेको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा गाउँ सभाध्यक्ष निर्मल रानाले सभामा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले सभामा प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०८३ का प्राथमिकता र सिद्धान्तहरू सर्वसम्मत रूपमा पारित गरिएको छ ।

गाउँपालिकाले आगामी बजेटलाई अधुरा तथा क्रमागत योजना सम्पन्नता, आयमूलक कार्यक्रम, सुशासन, सामाजिक विकास र पूर्वाधार विस्तारमा केन्द्रित गर्ने जनाएको छ । निर्माणाधीन सडक, भवन, तटबन्ध, खानेपानीलगायत पूर्वाधारका अधुरा आयोजना सम्पन्न गर्न उच्च प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभएको छ ।

कृषि, पशुपालन, सहकारी, लघुउद्यममार्फत रोजगारी सिर्जना, स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण (विशेषगरी लालझाडीका केरा) लाई विशेष जोड दिइने नीति लिइएको छ । साथै “एक वडा, एक उद्योग” र स्टार्टअप अनुदान कार्यक्रमलाई पनि प्रवर्द्धन गरिने जनाइएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै “समृद्ध लालझाडी” निर्माणमा बजेट केन्द्रित रहने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले डिजिटल सेवा, वित्तीय अनुशासन र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाइने जानकारी दिनुभयो । गाउँसभाको दोस्रो बैठक आउँदो असार ५ गते बिहान ८ बजे बोलाइएको र उक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरिने गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिनुभएको छ ।
