हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिग्रस्त अवस्थामा भेटिएको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको पुल गएराति क्षतिग्रस्त अवस्थामा भेटिएको दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिए । पुलमा भएको क्षतिको विस्तृत विवरण तथा क्षतिको कारणबारे भने थप प्राविधिक जाँच आवश्यक रहेको बताइएको छ । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारा चाँदनी तर्फको तेस्रो स्पानमा क्षति पुगेकोले विपद् व्यवस्थापन संयन्त्रले पुलको अवस्थाबारे थप निगरानी गरिरहेको विपद् सम्पर्क व्यक्ति विकले जानकारी दिए ।
पुलमा क्षति पुगेपछि यसको अवस्थाबारे स्थानीयवासीमा चिन्ता बढेको छ । महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल दोधारा चाँदनीका लागि सामान्य आवागमनको संरचना मात्रै होइन, यस क्षेत्रलाई बाँकी नेपालसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहँदै आएको छ । करिब डेढ किलोमिटर लामो यो पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भूभागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । वर्षायाममा महाकालीको बहाव बढ्दा आवागमन झनै कठिन हुने गरेको थियो । कतिपय अवस्थामा स्थानीयवासी महाकाली नदीमा किस्तीमार्फतसमेत वारपार गर्नुपर्ने अवस्थामा थिए ।

२०५८ सालतिर महाकालीमा झोलुङ्गे पुल निर्माण भएपछि दोधारा चाँदनीको आवागमनमा ठूलो परिवर्तन आएको स्थानीय अनुभव छ । पुल बनेपछि यहाँका बासिन्दाले नेपालकै बाटो हुँदै महेन्द्रनगरलगायतका क्षेत्रमा सहज रूपमा आवतजावत गर्न पाएका थिए । यसले दोधारा चाँदनीको व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । त्यसअघि दोधारा चाँदनी भौगोलिक रूपमा महाकाली नदीले धार परिवर्तन गर्दा अलग्गिएको र भारततर्फबाट मात्रै सहज पहुँच हुने क्षेत्रका रूपमा चिनिन्थ्यो । स्थानीय बासिन्दा दैनिक उपभोग्य वस्तु खरिददेखि उपचार तथा अन्य कामका लागि समेत भारतीय बजारमा निर्भर हुने गरेको अभिलेखहरूमा उल्लेख छ । झोलुङ्गे पुल निर्माणपछि भने यस क्षेत्रको बाँकी नेपालसँगको भौतिक तथा सामाजिक सम्बन्ध थप बलियो भएको थियो ।
पछिल्लो समय महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भएपछि ठुला सवारीसाधनको आवागमनसमेत सहज भएको छ । तर झोलुङ्गे पुलले पैदल यात्री तथा स्थानीय आवागमनका लागि आफ्नो छुट्टै महत्त्व कायम राखेको छ । पछिल्लो दुई दशक त यसले पर्यटकीय क्षेत्रको भूमिका समेत निर्वाह गर्दै आएको छ । नयाँ पक्की पुल बनेपछि पनि पुरानो झोलुङ्गे पुल दोधारा चाँदनीको इतिहास र विकास क्रमसँग जोडिएको महत्त्वपूर्ण संरचनाका रूपमा रहँदै आएको छ ।
महाकाली नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रमसँगै पुलको संरचनामा परेको असरबारे स्थानीय तह तथा सम्बन्धित निकायले तत्काल प्राविधिक निरीक्षण गर्नुपर्ने देखिएको छ । पुलको अवस्था यकिन गरी आवश्यक मर्मत तथा सुरक्षा व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीको अपेक्षा छ ।
यसैबीच, दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन गर्ने व्यक्तिहरूलाई पुलको क्षतिग्रस्त भागमा सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा आवागमन नगर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आग्रह गरेका छन् । पुलको मर्मतका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।