राजेन्द्र प्रसाद पनेरु, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७, ८,९ र १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मकै ब्लक र मुंग ब्लकमा आवद्ध किसानलाई ५० प्रतिशत अनुदानमा बुधवार कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशी, नगर प्रमुख दिल बहादुर ऐर लगायतले अनुदानमा उपलव्ध गराईएका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नु भएको हो । परियोजना अन्र्तगत १८ जना किसानलाई पावर टिलर, आठ जना किसानलाई मिनी पावर टिलर, स्प्रे टंकी ४० वटा, कर्न सेलर पाँच वटा, मेज हार्भेष्टर दुई वटा, सोलार सिचाई एक वटा उपलव्ध गराईएको छ ।
यसैगरी, साना सिचाई ३० वटा, ग्रेडिङ मेसिन एक वटा र दाल दल्ने मेसिन एक वटा किसानलाई अनुदानमा उपलव्ध गराईएको छ । कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जोशीले अनुदानमा उपलव्ध गराएका औजार र उपकरणको सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउनु भयो । किसानको दक्षता बृद्धि गर्नका लागि अनुदानमा कृषि औजार तथा उपकरण वितरण गरिएको उल्लेख गर्नु हुदै उहाँले कृषि उत्पादन संगै बजारीकरणमा जोड दिनुपर्ने बताउनु भयो ।
कृषि र स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतमा राखेर बजेट विनियोजन गरेको छ उहाँले भन्नु भयो, “सामुदायिक वन भित्र समेत खेती गर्न सक्ने अबधारण प्रदेश सरकारले अघि सारेको छ । जग्गाको अभाव भएकाले पनि अब व्यवसायीक खेतीका लागि जग्गाको अभाव झेल्नु पर्दैन ।” नगर प्रमुख दिल बहादुर ऐरले कृषिको समग्र विकासका लागि नगरपालिकाले दीगो नीति अख्तियार गरेको बताउनु भयो । किसानलाई व्यवसायीक बनाउनका लागि यान्त्रीकरणमा साझेदारी गर्दै आएको चर्चा गर्नु हुदै उहाँले किसानलाई दरिलो बनाउनका लागि कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनु भयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले कृषिको उत्पादन बढाउन र लागत खर्च घटाउनका लागि अनुदानमा वितरण गरिएका कृषि औजार तथा यन्त्रले सघाउ पुरयाउने बताउनु भयो । किसानलाई व्यवसायीकरण गर्न, आयआर्जनमा बृद्धि गर्न,युवालाई रोजगारी प्रदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अनुदानमा उपलव्ध गराईएका कृषि यन्त्रले मद्दत पुरयाउने उहाँको भनाई रहेको छ । कैलाली र कञ्चनपुरका २२ वटै स्थानिय तहमा परियोजनाले कृषिलाई आधुनिकिकरण गर्नका लागि कृषि औजार, उपकरण,बीउ र बिषादी अनुदानमा उपलव्ध गराउदै आएको छ ।