ती झ्यालका पर्दाहरु
कसैले नखोलिदिनु ,
किनकि ,
उज्यालो भित्र आउन
सक्छ ,
मलाइ अँध्यारोमै बस्न
मन पर्छ
ए सुन ,
त्यो कोठाको ढोका पनि
कसैले नढकढक्याउ ,
मलाइ एकान्तमा बस्ने
बानी परिसक्यो ।
यो घामलाई पनि भन्नु छ
मेरो कोठा भित्र किरणहरु
नपठाइदिनु ,
मलाई त अध्याँरो मन पर्छ
ए जुन सक्छौ भने ,
तिमी पनि नउदाइदिनु
तिम्रो सुनसान रातमा
मलाइ रमाउन देउ ।
मैले यहि बिस्तारासङ्ग हो
आफ्नो गुनासो बिसाउने
मैले यहि सिरानीसङ्ग हो
आँसुको पौडी खेल्ने ,
बस ,यो
बिस्तारा बिरानो नभइदियोस
सिरानी धेरै नरुझिदियोस ।
सुनन ,ए भित्ताहरु
तिम्रा पनि कान हुन्छन भने
म बिरहको गीत सुनाउछु ,
तिमी सुन्दै गर ,।
यो बन्द कोठाभित्र मलाई
तिमीले साहारा दिए पुग्छ ,
मैले यो झ्यालबाट बाहिर
किन हेर्नू पर्यो र ,
मलाई ,खुल्ला आकासको
त्यो पन्छी बन्नु छैन ,
मलाइ त बस तिम्रो अँध्यारो
कोठा नै प्यारो छ ,
खै किन हो किन ।
ती झ्यालका पर्दाहरु
कसैले नखोलिदेउ ,
यदि पर्दा खोलेउ भने
मेरो ध्यान त्यही जान्छ
यहि झ्यालबाट त हो नि
उसको गाउँ देखिने ,
ती पर्दाहरु खोल्दै नखोल
हावा भित्र पस्न सक्छ
र कुनै खबर ल्याउनेछ ,
जो म सुन्न सक्दिन ,
मलाइ बन्द कोठामै
बस्न देउ ।
हरिश चन्द 'बब्लु'
महेन्द्रनगर, कञ्चनपुर