हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच, सहभागिता तथा समावेशी विकास सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय अपाङ्गता भएका व्यक्तिहरूको समिति गठन गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घद्वारा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत आइतबार गाउँपालिका अध्यक्ष निर्मल राना को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समिति गठन गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट वडाध्यक्षसहित वडाबाट छनोट गरिएका एक-एक जना अपाङ्गता भएका प्रतिनिधि, वडा स्तरीय अपाङ्गता अग्रदूत, बाल सञ्जाल, बालिका समावेशी शिक्षा सञ्जाल, बालिका अग्रदूत तथा युवा समूहका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा योजना, पाठ्यक्रम रणनीति तथा समावेशी शिक्षाको दृष्टिकोणमा आधारित योजनामाथि समीक्षा तथा सामाजिक अडिटसमेत गरिएको थियो ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घअन्तर्गत परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरुले समावेशी गुणस्तरीय शिक्षा परियोजना २०२६ अन्तर्गत अर्धवार्षिक समीक्षा पनि सम्पन्न गरिएको जानकारी दिए । उनका अनुसार परियोजनाले अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय शिक्षामा समान पहुँच दिलाउने, विद्यालयमैत्री वातावरण निर्माण गर्ने तथा समुदायमा समावेशी सोच विकास गर्ने उद्देश्यका साथ काम गरिरहेको छ । उनले स्थानीय सरकार, समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको साझा आवाजलाई संस्थागत स्वरूप दिँदै पालिका स्तरीय समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा शम्भु प्रसाद जोशी, उपाध्यक्षमा दिलमाया राना, सचिवमा दिनेश राना तथा कोषाध्यक्षमा सियाराम राना चयन भएका छन् । साथै गाउँपालिकाका सबै वडाको प्रतिनिधित्व सुनिश्चित हुने गरी अन्य सदस्यहरू पनि चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष शम्भु प्रसाद जोशीले समितिले अपाङ्गता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र आवाजलाई सङ्गठित रूपमा सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका चुनौतीहरू केवल व्यक्तिगत नभई सामाजिक तथा संरचनागत समस्या भएको उल्लेख गर्दै अब ती विषयहरूलाई योजनाबद्ध रूपमा पालिकासम्म पुर्याइने बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा सामाजिक सुरक्षामा सहज पहुँच विस्तारका लागि समिति सक्रिय रहने उनको भनाइ थियो ।
समितिकी उपाध्यक्ष दिलमाया रानाले अपाङ्गता भएका महिलाहरूले दोहोरो विभेद झेल्नुपर्ने वास्तविकता औँल्याउँदै उनीहरूको आत्मविश्वास वृद्धि, नेतृत्व विकास र सामाजिक सहभागिता बढाउन समिति महत्त्वपूर्ण माध्यम बन्ने बताइन् । उनले परिवार, समुदाय र सरकारी निकाय सबैले संवेदनशील भएर काम गरे मात्र वास्तविक समावेशी समाज निर्माण सम्भव हुने धारणा राखिन् ।
सबै वडाको प्रतिनिधित्व गर्दै लालझाडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पहल बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा सहानुभूतिको दृष्टिले मात्र नभई अधिकार प्राप्त नागरिकका रूपमा हेर्नुपर्ने बताए । उनले स्थानीय तहले अपाङ्गतामैत्री नीति, सेवा र संरचना विकास गर्नुपर्नेमा जोड दिए । वडा स्तरबाट आवश्यक सहयोग, समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निर्मल रानाले अपाङ्गता भएका व्यक्तिहरू समाजका महत्त्वपूर्ण र सक्षम नागरिक भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास, सशक्तीकरण र अधिकार सुनिश्चितता गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा आवश्यक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । समावेशी विकास नीतिगत दस्ताबेजमा मात्र सीमित नभई व्यवहारमा पनि लागू हुनुपर्नेमा जोड दिँदै उनले अपाङ्गतामैत्री कार्यक्रमलाई आगामी योजना तथा बजेटमा प्राथमिकता दिइने स्पष्ट पारे । अपाङ्गता भएका व्यक्तिहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु नै वास्तविक समावेशी शासनको आधार भएको उनको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी आदिवासी जनजाति सङ्घ लालझाडीकी अध्यक्ष गोमती रानाले समावेशी विकासको अवधारणा सबै समुदाय र वर्गलाई समान अवसर उपलब्ध गराउने आधार भएको बताइन् । उनले विशेष गरी आदिवासी जनजाति समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि शिक्षा, स्वास्थ्य र सामाजिक अवसरबाट पछाडि परेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूको आवाजलाई मुख्य धारमा ल्याउन सहयोग पुग्ने बताइन् । समुदाय स्तरमा चेतना अभिवृद्धि, अधिकारबारे जानकारी र सशक्तीकरण कार्यक्रमलाई अझ व्यापक बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले समिति गठनलाई अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण, नीति निर्माणमा सहभागिता तथा समावेशी विकासको दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । स्थानीय स्तरमै यस्तो संरचना निर्माण भएसँगै अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू थप सङ्गठित रूपमा उठ्ने र समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ । समिति गठनसँगै लालझाडी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सेवा पहुँच विस्तार र समावेशी समाज निर्माणतर्फ नयाँ आधार तयार भएको सरोकारवालाहरूको विश्वास रहेको छ ।