हरिश्चन्द्र बाग, कञ्चनपुर, १० जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भइरहेको बेथितिका विरुद्ध यहाँका सचेत युवाहरू सक्रिय भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा मिडिया शीर्षकमा विनियोजन गरेको रु. २० लाख रकम मनोमानी तरिकाले खर्च गरेको तथ्य बाहिरिएपछि सचेत युवाहरू सक्रिय भएका हुन् । उक्त २० लाख रकम मध्ये अधिकांश रकम त कहिले पनि नामै नसुनिएका, प्रकाशन प्रसारण नै नहुने, बेलडाँडीमा कुनै भूमिका निर्वाह नगर्ने र गोप्य रूपमा लुट्नकै लागि खोलिएका मिडियाहरूमा खर्च गरेको पाइएकोले त्यसमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको समेत संलग्नता रहेको हुन सक्ने आशङ्का गरिएको छ ।
बेलडाँडीबाटै सञ्चालनमा रहेका मिडियाहरूबाट सार्वजनिक सरोकारका सूचना, सन्देश सम्प्रेषण गर्न कन्जुस्याइँ गरी आम गाउँवासीलाई सूचनाको हकबाट वञ्चित गर्दै आएको बेलडाँडी गाउँपालिकाले मिडियामा गरेको खर्च बाहिरिएपछि आम नागरिक चकित भएका छन् । गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका गल्ती ढाकछोप गराउन ती मिडियामा अनावश्यक खर्च गरेको हो कि कमिसन पाउन भन्दै जनजनले प्रश्न गरिरहेका छन् ।
बेलडाँडीका सचेत युवा चेत बहादुर शाहको नेतृत्वमा बुधबार गाउँपालिकामा गएको युवाहरूको समूहले गाउँपालिका अन्तर्गतका सरकारी गाडीहरूमा भएको इन्धन खर्च, जनप्रतिनिधि र कर्मचारीमा गरिएको इन्धन खर्च र मिडियामा भएको खर्च विवरण माग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी पेस गरिएको उक्त निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीलाई सूचनाको विवरण दिनु भनी तोक लगाएका छन् । तर सूचना अधिकारी भने बिदामा रहेको बुझिएको छ । युवाहरूको उक्त समूहले गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना सहित अन्य जनप्रतिनिधिहरूसँग समेत भेटघाट गरी खबरदारी गरेको बताइएको छ ।