हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ साउन । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८।०७९ मा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँ मात्र खर्च गरेको हो । अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चालुतर्फ १२ अर्ब ३८ करोड ५४ लाख बजेट रहेकोमा ९ अर्ब १ करोड ६४ लाख मात्रै खर्च गर्दै ७१.७१ प्रतिशत खर्च गरेको छ । प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँमध्ये ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेशमा अझै दरबन्दी अनुसारको जनशक्ति नहुनु, कोरोना महामारी लगायतका कारण बजेट खर्च नभएको प्रदेश सरकारले दाबी गरेको छ ।