माननीय मन्त्री सांसद एवम् सभा सदस्य ज्यूहरु !
निर्वाचित हुनु भएको डेढ वर्ष (१८ महिना वा ५४० दिन) गुज्री सके २०७५÷०७६ को नीति कार्यक्रम गुज्री सक्यो २०७६÷०७७ को नीति तथा कार्यक्रम आइसक्यो । बजेट आइसक्यो । जेष्ठता, योग्यता, क्षमता, भिजन, इमान्दारी, प्रतिवद्धता, अनुशासन, लगनशीलता आदि आधारले वा शिर्ष नेतासितको नाता निकटता वा विगतको निर्वाचनमा हारबाट प्राप्त सहानुभूति वा जातीय जनाधारले २०७४ को निर्वाचनमा टिकटको दौड जित्नुभो ।
उक्त विषय तपाईको व्यक्तिगत र पार्टीको आन्तरिक हो । तर निर्वाचित हुनुभयो । जनप्रतिनिधी बन्नुभयो । तपाईको सक्रियता, निस्क्रीयता, इमान्दारी र लगनशीलताको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव जनसरोकारको विषयमा पर्न थालेपछि जनचासोको विषय बनेको छ । तपाईहरुको लापरवाही, उपेक्षा र बेवास्ताको प्रभाव बेलौरी कलुवापर राजमार्ग निर्माणमा देखिएको छ । सड्कको दुरावस्थाले पिरोलिएका, चर्को बस भाडाले शोषित, यात्रामा अस्वाभाविक रुपले अमुल्य समय खर्चेका, जेखिमपूर्ण यात्राका शिकार यस अलपत्र राजमार्ग पहँुच क्षेत्रका पटक पटक ठगिएका, झुक्कीएका, पिडित उपेक्षित लाखौं जनताले दुःखी भएर चिन्ता र चासो जताएका छन् ।
मन्त्रीज्यू ! साँसदज्यू ! तपाई निर्वाचित भएको एक वर्ष पछि अर्थात् २०७५÷०७६ को नीति तथा कार्यक्रम तपाईको सहभागिताले स्वीकृत भए पछि आ.व. २०७५÷०७६ को बजेट पनि तपाईहरुको सहभागिता र समर्थनबाट स्वीकृत भए पछि ०७३ भदौमा नै ठेक्का सम्झौता भैसकेको बेलौरी कलुवापुर सहायक राजमार्गको निर्माण कार्य सुदूर पश्चिम प्रदेश सरकारलाई जिम्मा लगाएको समाचार जानकारी हुँदा सर्वत्र चिन्ता, चासो र चर्चाको विषय बनेको छ । अनेकौ गम्भीर प्रश्नहरु उठेका छन् ।
पुर्व पश्चिम राजमार्ग (मरामा) को कलुवापुर विन्दुबाट दुलनीया, वन्साहा, कालागौडी, ढक्का, चान्देव, बन्तरीया, मैनाहा, शान्तीपुर, बेलौरी बजार, चिलाडाङा, प्रेम नगर , भुराकोट, बैशाखा, बेलौरी भन्सार हुँदै नेपाल भारत सीमा स्तम्भ २१० निकट भारतको खजुरीया पुरनपुर राजमार्ग सित मिलान हुने ३१ कि.मि. लामो राजमार्ग उद्योग, कृषि, पर्यटन, बाणिज्य व्यापार, धार्मिक, सांस्कृतिक, राजनैतिक ऐतिहासिक, महत्वका साथै शिक्षा, स्वास्थ्य, सुरक्षा प्रगति र समृद्धिका लागि महत्वपूर्ण मानिन्छ । प्रदेश १, प्रदेश २ र प्रदेश ५ का यस्ता अधिकांश राजमार्गहरु ४ लेन वा ६ लेनका बनी सकेका छन् कोही निर्माणाधीन छन् । कञ्चनपुर जिल्लाको शताब्दी बढी समय सम्म सदरमुकाम र पूर्वाद्र्धमा कैलाली समेतको सदरमुकाम रहेको बेलौरी स्थित १५९ वर्ष पुरानो बेलौरी भन्सारको स्तरोन्नति गरी नाका भन्सार बनाउने राष्ट्रिय एजेण्डामा मंत्री तथा सांसद को भनाई र गराईमा राजमार्ग निर्माणको उक्त बेवारिसेपनले विरोधाभाष सावित गरेको छ ।
निर्णय मंत्री स्तरीय हो वा मन्त्रीमण्डलीय ? मन्त्रीज्यु ! तपाईको उपस्थितिमा निर्णय भयो वा अनुपस्थितिमा ? पुर्वाधार तथा यातायात मंत्रीले प्रस्ताव लग्न पूर्व तपाईहरु सरोकारवाला दुवै सांसदको सल्लाह सुझाव लिनुभो वा भएन ? राजमार्ग कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ र २ मा पर्ने हुनाले क्षेत्र नं. १ का दुवै जना प्रदेश सभा सदस्य र क्षेत्र नं. २ का दुवै प्रदेश सभा सदस्य गरी चारै जना प्रदेश सभासदको सल्लाह सुझाव र परामर्ष लीईयो वा लीइएन ?
पुर्वाधार तथा यातायात मंत्रीको आदेशानुसार मन्त्रालय वा विभागका कर्मचारीले प्रदेश सरकारलाई पत्राचार गरेका हुन् वा प्रधानमन्त्रीज्यूको ठाडो आदेशानुसार मन्त्रीले प्रदेश सरकारलाई पत्र पठाएका हुन् ? तपाई सांसद द्वय र प्रदेशसभा सदस्य चारजना बीच यस विषयमा छलफल परामर्श र समन्वय भयो वा भएन ? प्रदेश सरकारले हौसीएर आफै निर्माण गर्न संघीय सरकार सित माग गरेको हो ? माग गर्न पूर्व तपाईहरु ६जना सभासद सित छलफल परामर्श र समन्वय गरियो वा गरिएन ? संघीय सरकारले निर्णय गर्दा राष्ट्रिय योजना आयोगको प्राविधिक राय सल्लाह सहमति लियो वा लिएन ? सुदुर पश्चिम प्रदेश सरकारको प्राविधिक संरचना नै पूर्ण नभएको अवस्थामा निर्माण कार्यको जिम्मा दिनु न्याय र विवेक सम्मत भयो वा भएन ? राजमार्गको दुरावस्थाको कारणले यस क्षेत्रका जनताको लामो समयदेखी समयको अपव्यय, आर्थिक दोहन र जोखिमपूर्ण यात्राको पिडा स्मरण भयो वा भएन ?
मन्त्री सांसद तथा सभासद महोदय ! राजमार्गको निर्माण कार्य हस्तान्तरणको जानकारी पाउने बित्तिकै तपाईहरुको एकल र सामुहिक प्रतिक्रिया के आयो ? निर्णयको स्वागत गर्नुभो वा विरोध ? सुदूर पश्चिम प्रदेश सरकारले केन्द्रबाट हस्तान्तरित दुईवटा राजमार्ग महत्वपूर्ण ठहराएर केन्द्रमानै फिर्ता पठाउँदा यस राजमार्गलाई किन पठाएन ? मन्त्री महोदय र सांसद ज्यूहरु ! २०७४ मंसीरमा निर्वाचित भए लगतै यस राजमार्ग निर्माणको लागि सडक डिभिजन महेन्द्रनगर देखी ववरमहल सडक विभाग र यातायात मन्त्रालय सम्म के–के पहल गर्नुभयो ? २०७५÷०७६ को निति तथा कार्यक्रम र बजेट निर्माणमा तपाईहरुको सार्थक पहलबाट के प्राप्ती भयो ?
मन्त्री महोदय र साँसद तथा सभासदहरु ! केन्द्र सरकारले यस राजमार्गको दुरावस्थाको कारणले जनताले भोग्दै आएका दुःख, कष्ट र क्षतिको अपजसबाट पन्छिन र राज्यको सुुदूर पश्चिम प्रदेश प्रतिको विभेदकारी निति वरकरार राख्न तपाईहरुलाई साँछि करार गरेर राजमार्गनिर्माण कार्यको जिम्मा प्रदेश सरकारलाई दिएको स्पष्ट भएको छ । केन्द्र सरकारले सुदूर पश्चिम प्रदेशलाई धोका दिएको छ । राजमार्ग निर्माण सम्बन्धमा तपाईहरुको बेखबरपन, लापरवाही, उपेक्षा र वेवास्ताले १८ महिनाको महत्वपूर्ण समय उपलब्धी शुन्य मात्रै नभएर बाँकी अवधीका लागि पनि आधार हिन बन्न गएको छ । तपाईहरुले जनता समक्ष यस राजमार्ग विषयमा सार्वजनिक गर्ने गरेका महत्वाकाँक्षी प्रतिवद्धता र कार्यान्वयनको बिच गहिरो खाडल देखिएको छ ।
निरंकुशता र केन्द्रीकृत शासन प्रणालीको गठजोडबाट देशमा कायम रहेको जातीय, वर्गीय, क्षेत्रीय विभेदकारी नीति खारेज गर्न र त्यसैको विरासतको रुपमा रहेको भोक, रोग, अशिक्षा, असुरक्षा, बेरोजगारी, कुसंस्कार र कुशासन को जरै देखी उन्मुलन गर्न ७० वर्षको लामो संघर्ष, त्याग र समर्पणको फलस्वरुप निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को भावना र मर्मानुसार स्थानीय, प्रादेशिक र संघीय तिनै तहको निर्वाचनबाट यहाँहरुले प्राप्त गरेको दायित्व र वहन गर्दै गरेको भूमिका बीच समन्वयको अभाव दिनानुदिन बढ्दै गएको आभाष भैरहेको छ ।
विकासका लागि सहकार्य र समन्वय पनि सापेक्षित अवस्थामा एक अपरिहार्य तत्व भएकाले मन्त्री साँसद र प्रदेश सभासदको कलुवापुर बेलौरी सहायक राजमार्ग निर्माणमा साझा दायित्व र जिम्मेवारी लाई उपयोगी ढंगले तत्परता, इमान्दारी र दृढताका साथ परिचालन गराउन सत्तासीन नेपाल कम्युनिष्ट पार्टीको सक्रिय भूमिका पनि खड्केको छ ।
सरोकारवालाको तर्फबाट
केशव राज जोशी
पूर्व प्रधानाध्यापक
महाकाली मा.वि. बेलौरी