तर्कराज भट्ट, डडेलधुरा, १० जेठ । डडेलधुरामा खेती योग्य जमिन घट्दै गएको छ । जिल्लामा ११ हजार ६ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हाल १० हजार ६ सय ६७ हेक्टरमा मात्रै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । जिल्लाको ग्रामीण भेगमा अझै पनि शिक्षा, स्वास्थ्य, सडक, यातायात, बिजुली लगायत विकासका पूर्वाधारहरू पुग्न सकेका छैनन् । सुविधा खोज्न यहाँबाट तराई झर्ने क्रमका कारण पनि पहाडी खेती योग्य जमिन घट्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख रामचन्द्र भट्टले बताउनु भयो ।
डडेलधुरामा धान, गहुँ, मकै लगायतका अन्नबाली तथा फलफूलहरू उत्पादन हुने गरेका छन् । विभिन्न कारणले कृषि पेसालाई छाड्दै जाने र कृषिका लागि प्रयोग हुँदै आएको जमिन समेत घटेको अवस्थामा यसको प्रत्यक्ष असर खाद्यान्न उत्पादनमा पर्दै आएको प्रमुख भट्टको भनाइ छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा अधियाँ कमाउने, अर्मपर्म गर्ने प्रचलन हट्नु, सिँचाइको प्रबन्ध नहुनु तथा युवा जनशक्ति विदेश पलाएन हुनुले पनि स्थानीयले खेती गर्न छोडेपछि जिल्लामा खेती योग्य जमिन घट्दै गएको हो ।