हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ कार्तिक । कञ्चनपुरको बेलौरीमा पनि छठ पर्व मनाइएको छ । बेलौरी स्थित स्याली नदीको तटमा रहेको छठ घाटमा पूजाआजा गर्दै बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको व्रिजेश गुप्ताले जानकारी दिनुभयो । कञ्चनपुरको बेलौरी क्षेत्रमा छठ पर्व मान्ने समुदायका करिब २५ परिवार मात्रै हुनुहुन्छ ।
त्यस्तै कञ्चनपुरको महेन्द्रनगर स्थित ऐठपुरमा पनि छठ पर्व मनाइएको छ । छठ घाटहरूमा रङ्गरोगन गरी वरिपरि केराका खम्बा, ध्वजापताका लगाएर सजावट गरिएको छ । व्रतालुहरूले केरा, उखु, अदुवा, मुला, स्याउ, सुन्तला, कागती, अमिलो, भोगटे लगायतका फलफूलहरू तथा मिष्ठान्न, पकवान समेत चढाउनु भएको छ ।
सूर्यलाई भगवान्को प्रतीकको रूपमा पूजा गर्ने भक्तजनहरूले आआफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गर्नुभएको छ । चतुर्थीका दिन नुहाउने र चोखो खाने कुरा ग्रहण गर्नुभएका भक्तहरूले पञ्चमीमा दिनभर व्रत बसेर राति पूजा गर्नु भएको थियो । छठ पर्वको मुख्य दिन आज षष्ठीका दिन अस्ताउँदो र भोलि सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुहुन्छ ।
छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्व अत्यन्त गहिरो र पवित्र रहेको यसबारे जानकार रामलखन गुप्ताको भनाइ छ । यो पर्व विशेष गरी सूर्यदेव र छठी माताको पूजा अर्चना गर्ने पर्व हो । छठ पर्वमा मुख्यतया व्रतालुहरूले सूर्यको उपासना गर्छन्, किनकि सूर्यलाई जीवन, ऊर्जा, स्वास्थ्य, तथा समृद्धिको स्रोत मानिन्छ। यो पर्व विशेष गरी नेपालको मधेस र तराई क्षेत्र तथा भारतको बिहार, उत्तर प्रदेश तथा अन्य केही क्षेत्रमा ठूलो उल्लास र श्रद्धाका साथ मनाइन्छ ।
छठ पर्वको महत्त्व ।।
छठ पर्वको व्रतलाई अत्यन्त कठिन र कठोर मानिन्छ । यसमा चार दिनसम्म व्रतालुहरूले शुद्धता, संयम र कठोर नियमहरूको पालना गर्नुपर्छ । जसले तपस्या र आत्म शुद्धिको महत्त्वलाई उजागर गर्छ । छठमा सूर्यलाई जीवनदायिनी शक्ति मानिन्छ र यो पर्व सूर्यको आराधनामा समर्पित छ । यो पर्वले मानिसमा सूर्यप्रति आस्था र कृतज्ञता जागृत गराउँछ । छठमा सूर्यका साथ जलको पनि पूजा गरिन्छ । जसले प्रकृति र प्राकृतिक स्रोतहरूको सम्मान गर्ने संस्कारलाई महत्त्व दिन्छ ।
छठ पर्वमा गाउँ, समाज र परिवारका सबै सदस्य एकसाथ भएर पर्व मनाउँछन् । यसले सामाजिक एकता र सद्भावलाई बढावा दिन्छ । छठको समयमा परम्परागत लोक गीतहरू गाउने चलन पनि छ । जसले हरेक पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न मद्दत पुर्याउँछ । यो पर्वमा समाजका सबै वर्ग, जात र धर्मका मानिसहरू बिना भेदभाव सूर्यको आराधना गर्छन् । जसले समानताको सन्देश दिन्छ । यस कारण पनि छठ पर्वलाई धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक तत्त्वहरूको सम्मानमा आधारित एक महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ ।
कञ्चनपुरको बेलौरीमा यसरी मनाइयो छठ पर्व ।।