हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, ०६ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पछिल्लो तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू सोमबार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख रण बहादुर महराले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, प्रशासनलगायतका विभिन्न क्षेत्रमा सम्पन्न योजनाहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । नगरप्रमुख महराले निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका कार्यहरू अघि बढेको उल्लेख गर्दै केही योजना पूर्ण भइसकेको र केही निरन्तर कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
नगरस्तरीय कभर्डहल निर्माण सम्पन्न गरिनुका साथै नगर खानेपानी तथा चक्रपथ योजना तीव्र गतिमा अगाडि बढाइएको छ । तीन सय सडक बत्तीमध्ये ११ स्थानमा सोलार बत्ती जडान गरिएको छ भने सिँचाइका लागि ६६ बोरिङ निर्माण, दुई वटा मल्टिस्पान पुल निर्माण र नगर अस्पतालमा ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २५३ विपन्न नागरिकलाई जनही ३० हजारका दरले अनुदान वितरण गरिएको छ । पर्यटकीय प्रवर्द्धनका लागि मणिकाधामदेखि बतासे झरनासम्म ३ दशमलव ५ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८०।०८१ मा नदीजन्य पदार्थ सङ्कलनबाट ४५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ८ किलोमिटर मेष वायर घेरबार निर्माण गरिएको छ । कृषि माध्यमिक विद्यालयमा छात्रावास निर्माण, निःशुल्क खोप सेवा र कृत्रिम गर्भाधान केन्द्र स्थापना, छाडा चौपाया व्यवस्थापन लगायतका कार्यक्रम निरन्तर सञ्चालनमा छन् । सामाजिक क्षेत्रमा ३० जना जन्मजात अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तालिम सञ्चालन, एकल महिलाका लागि सशक्तीकरण तालिम र तीन सयभन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । नगर प्रहरी गठन गरिएको छ भने अटो रिक्साका लागि कानुनी व्यवस्था गरी हालसम्म ४४ वटा अटो रिक्सालाई दर्ता गरिएको छ । ११ रुटमा इजाजत पत्र प्रदान गरिएको छ । तरकारी पकेट विकास अन्तर्गत विविध कृषि कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा आर्थिक वर्ष २०७९।०८० मा शुक्लाफाँटा नगरपालिका प्रदेशमै पहिलो भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०।०८१ मा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै अग्रस्थान हासिल गरेको थियो । न्यायिक समितिमार्फत अघिल्लो वर्ष २९ मध्ये २७ विवाद, सो पछिल्लो वर्ष ३३ मध्ये ३१ विवाद र चालु आर्थिक वर्षमा १५ मध्ये ११ विवाद समाधान गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले जानकारी दिनुभयो । उहाँले जनताको हितका लागि निष्पक्ष रूपमा काम गर्दै आएको दाबी गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले प्रशासनिक स्पष्टता अनुरूप योजनाहरू कार्यान्वयन गरिएको जानकारी दिनुभयो । नयाँ संविधानपछि गठन भएको दोस्रो स्थानीय सरकारअन्तर्गत तीन वर्षे उपलब्धी सार्वजनिक गर्ने शुक्लाफाँटा नगरपालिका कञ्चनपुरको पहिलो स्थानीय तह बनेको छ ।